कोभिड महामारीका नयाँ भेरियण्टहरु आईरहने बिश्व स्वास्थ्य संगठनको भनाई
विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड महामारी अझै केही समय रहने र ओमिक्रोन भेरिएन्ट पनि जोखिमपूर्ण भएको मंगलवार बताएका छन् ।

‘महामारी अहिल्यै अन्त्य हुँदैन,’ टेड्रोस एधानोम गेब्रेयेसुसले सञ्चारकर्मीहरूलाई बताए ।
अहिले संसारभरि द्रुत गतिमा फैलिरहेको ओमिक्रोन भेरिएन्टका विषयमा पनि टेड्रोसले चेतावनी जारी गरे ।
ओमिक्रोन पहिलेका भेरिएन्टभन्दा बढी संक्रामक छ र तर यसले गम्भीर रोग लगाएको छैन ।
त्यो देखेर कतिपयले महामारी अब अन्त्य हुन लागेको बहस समेत गरेका छन् । अब खतरा सकिएको उनीहरूको भनाइ छ ।
तर व्यापक संख्यामा मानिसहरू संक्रमित बनिरहेको देखिँदा कमजोर मानिस गम्भीर बिरामी हुने र मर्ने जोखिम कायमै रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
कोभिड १९ लाई नाटकीय रूपमा नियन्त्रणबाहिर जान दिइएमा नयाँ भेरिएन्टहरू आउने अवसर बढ्ने पनि संगठनको भनाइ छ ।
‘ओमिक्रोन कम घातक होला तर यो कमजोर रोग हो भन्ने भाष्य गलत छ,’ टेड्रोसले बताए । ‘कुनै गल्ती नगर्नुस्, ओमिक्रोनका कारण अस्पतालमा भर्ना हुने र मृत्यु हुने भइरहेको छ र कम कठोर केसले पनि स्वास्थ्य केन्द्रहरूलाई भार दिइरहेको छ ।’
ओमिक्रोनका कारण कोभिडका केसहरू कुनै देशमा चरममा पुगेको संकेत पाइएको उनले बताए ।
पछिल्लो लहर अब अन्त्य हुन लागेको यसले संकेत गर्छ तर कुनै पनि देश खतरामुक्त छैन, उनको भनाइ छ ।

