विविध कार्यक्रम गरि आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती आज मनाइँदै



काठमाडौं। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्मजयन्ती आज मनाइँदैछ। स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उनको सम्झना गरिँदैछ।

नेपाली साहित्यका विराट प्रतिभा मानिने देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औंसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।

सानै उमेरदेखि कविता लेख्न थालेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।

नेपाली साहित्यमा उनी स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक पनि हुन्। देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।

प्रतिक्रिया दिनुहोस्