एमालेको ऐतिहासिक प्रथम विधान महाधिवेशन गोदावरीमा सुरु



काठमाडौं । प्रमुख विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा सुरु भएको छ । पार्टीको आगामी नीति तय गर्न सुरु विधान महाधिवेशनको पानसमा बत्ती बालेर अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो सुरु भएको सम्मेलनमा देशभरका झण्डै ६ हजार प्रतिनिधि सहभागी रहेको बताइएको छ ।
महाधिवेशनको पहिलो दिन शीर्ष नेताहरुको मन्तव्यसहित राजनीतिक, सांगठानिक र विधान संशोधन गरी ३ वटा दस्तावेज छलफलका लागि पेश गर्ने कार्यतालिका रहेको नेताहरुले जानकारी दिएका छन् । पेश भएका दस्तावेजमा दोस्रो दिन समूहगत छलफल गर्ने एमालेको तयारी छ ।

हालै एमाले केन्द्रीय कमिटिले पारित गरेको प्रस्तावमा केही हेरफेर गरिएको बताइएको छ । असोज ९ गते सम्पन्न बैठकले वरिष्ठ नेतासहित दुई उपमहासचिव राख्ने प्रस्ताव पारित गरेको थियो । तर त्यसलाई हेरफेर गर्दै विधान महाधिवेशनमा औपचारिक रुपमा प्रस्तुत गरिएको विधान संशोधन प्रतिवेदनमा उपमहासचिव पद नराख्ने प्रस्ताव गरिएको छ । शुक्रबार प्रतिनिधिहरुलाई वितरण गरिएको संशोधन प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ मात्रै पदाधिकारी राख्ने प्रस्ताव गरिएको छ । त्यस्तै १३ जना पदाधिकारीसहित केन्द्रीय कमिटिको संख्या २२५ जना रहने प्रस्ताव मात्र गरिएको छैन । निवर्तमान पार्टी अध्यक्षलाई वरिष्ठ नेता मान्य प्रावधानसमेत हटाउने प्रस्ताव गरिएको एक सहभागीले बताएका छन् ।

विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको अध्यक्षता केपी शर्मा ओलीले गर्ने गरी अध्यक्ष मण्डलको व्यवस्था गरिएको छ । अध्यक्ष मण्डलका सदस्यहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, स्थायी कमिटि सदस्य रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ्ग, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा रहेका छन् । यसैगरी प्रस्ताव मस्यौदा कमिटिमा भिम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यमलाल कँडेल, राजन भट्टराई, पद्मा अर्याल र लिला भण्डारीलाई जिम्मेवारी दिइएको छ । सुझाव अध्ययन कमिटिमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, ज्वाला साह, शिवमाया तुम्वाहाम्फे रहेका छन् । प्रचार कमिटिमा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापालाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्