सोलुखुम्बु : सोलुदुधकुण्डको ७ नं वडा अधिबेशन पुनः गरिने

सोलुखुम्बु ।जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ को अधिवेशन पुनः हुने भएको छ ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २२ गते सो अधिबेशन सम्पन्न भएको दावी गर्दै मतदान अधिकृतले परिणाम सार्बजनिक गरेपनि नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले मान्यता नदिएपछि सो वडामा पुनः मतदान हुन लागेको हो। जिल्ला निर्वाचन अधिकृतलाई आइतबार पत्र लेख्दै उक्त वडाको अधिवेशन बद्वर गरि पार्टीको विधान, नियामावली र निर्वाचन निर्देशिका अनुसार पुनः अधिवेशन गर्न भनेको छ ।
केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले हस्ताक्षर गर्नुभएको पत्रमा मतदान अधिकृतले निर्वाचन कार्यतालिका प्रकाशन गरेपनि मिति उल्लेख भएको नपाएको र वडा कर्यसमिति र क्षेत्रीय प्रतिनिधि विजयी घोषणा गरेकोमा मतदान अधिकृत रहेको नदेखिएकाले बदर गर्नुपर्ने उल्लेख छ ।
उक्त वडा अधिवेशनमा एकपक्षले एकलौटी ढंगले गरेको भन्दै पुनः अधिवेशन हुनुपर्ने माग सहित १६ जना क्रियाशिल सदस्यले जिल्ला निर्वाचन अधिकृत र पार्टी समक्ष निवेदन दर्ता गराएका थिए । नगरपालिका सभापति पदका उम्मेदवार समेत रहनुभएका सोनाम ग्याल्जेन शेर्पाले पुर्व सहमति बिपरित अधिवेशन गरेको काङ्ग्रेस नेता राजकुमार प्रधानले आरोप लगाउँदै आउनुभएको छ ।
सोही विषयमा जिल्ला निर्वाचन अधिकृत कैलास गुरुङ र दुबै पक्षका नेताबीच पटक पटक छलफल गरेको भएपनि निष्कर्ष ननिस्केपछी निर्णयार्थ केन्द्रमा पठाउने सहमति भएको थियो ।
तर भदौ ३० गते जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङले सबै वडामा सफलताका साथ अधिवेशन सम्पन्न भएको विज्ञप्ति जारी गर्नुभएको थियो । अघिल्लो दिन आफुले गरेको निर्णय विपरीत विज्ञप्ति निकालेको भन्दै काङ्ग्रेस सोलुखुम्बुले ध्यानाकर्षण भएको समेत जनाएको थियो ।

