एमाले केन्द्रीय कमिटी बैठक : महाधिवेशन केन्द्रित हुन नेताहरूलाई अध्यक्ष ओलीको निर्देशन



 

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बाहेकका विषयमा पार्टी अलमलिन नहुने बताएका छन्। ललितपुरको च्यासलमा आयोजित केन्द्रीय कमिटीको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले असोज १५,१६ र १७ गते हुने विधान महाधिवेशनमा केन्द्रित हुन नेताहरुलाई निर्देशन दिए।

शुक्रवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा नेताहरुले उठाएका प्रश्नको जाफ दिने क्रममा ओलीले पार्टीको विवादभन्दा पनि विधान महाधिवेशन सम्मुखमा आएकाले त्यसमा नै केन्द्रित हुने निर्देशन दिए। शुक्रवारको बैठकमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए।

उनीहरुलाई लक्षित गर्दै ओलीले सोही दिन नै विवादको विषय बैठकको ऐजेण्डा नबन्ने बताएका थिए। आइतवार पनि ओलीले विवादमा नअल्झन नेताहरुलाई आग्रह गरे।

‘चार दिन छ महाधिवेशन बाहेक अरुमा हामीले ध्यान दिनु हुँदैन। एकतावद्ध सुदृढ पार्टी बनाउनुपर्छ। यस्तो विचार बोकेको पार्टीलाई फुटाउन खोजियो,’ ओलीले भने। ओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

नेता घनश्याम भुसालले उक्त प्रतिवेदनमाथि फरक मत राखेका थिए भने नेपाल पक्षमा रहेका अरु नेताले पनि ओलीको विचारप्रति विमति जनाएका थिए। तर, ओलीले भने आफूले प्रस्तुत गरेको प्रतिवेदनलाई गर्नैपर्ने र गरेका कामको फेहरिस्त भन्दै जवाफ फर्काए।

‘राजनीतिक प्रतिवेदन यो गर्नैपर्ने कामको प्रतिवेदन हो। गरेका कामको फेहरिस्त पनि हो। राजनीतिक प्रतिवेदन हाम्रा विचार, हाम्रा कर्तव्य हामी कसरी त्यस गन्त्वयमा पुग्ने हाम्रा नीतिहरु हुन्,’ उनले भने।

एमालेमा १० बुँदे सहमति कायम नभएपछि उपाध्यक्ष भीम रावल लगायतका नेताहरु जिम्मेवारी बिहीन छन् भने २०७५ जेठ २ गतेको कमिटी अनुसारको कमिटी सक्रिय भएको छैन। मुख्यगरी १० बुँदे सहमति पालना नभएको असर सुदुरपश्चिम, वागमती र प्रदेश नम्बर २ का जिल्लामा देखापरेको छ। ओलीले शनिवार प्रतिवेदनमाथि छलफल गर्न बनाएका टोली नेतामा १० जना नेतालाई वाइपास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्