प्रधानमन्त्री देउवाको सचिवालयले सार्बजनिक गरेका यी हुन सरकारका मुख्य १५ उपलब्धि



काठमाडौं ।सरकार गठन भएको दुई महिना बितिसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म गरेका उपलब्धि भन्दै उनको सचिवालयले १५ वटा बुंदा सार्बजनिक गरेको छ।

प्रधानमन्त्री देउवाको सचिवालयले सार्बजनिक गरेको सरकारका महत्वपूर्ण १५ कामको सूचीमा विद्युत प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई उल्लेख गरिएको छ ।

यस्तै एकैदिन तीन लाखलाई खोप दिनु, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोपको टुंगो लगाउनु र बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार तथा राहत र पुनस्थापनाको कामलाई पनि सरकारले उपलब्धिको सूचीमा समावेश गरेको छ ।

यस्तै, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि, क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत दिनु पनि सरकारको उपलब्धिको रुपमा राखिएको छ ।

राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ र ‘महिला लक्षित महिला पहिला कार्यक्रम’, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई देउवा सरकारले २ महिनाभित्र गरेका १५ उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्