धामी मृत्यु प्रकरण : धमिलो पानीमा माछा मार्ने प्रयास भइ रहेको नेपाल जनता पार्टीको आरोप !

काठमाडौं।नेपाल जनता पार्टीले महाकाली नदीमा जयसिंह धामी मृत्यु प्रकरणलाई उचालेर धमिलो पानीमा माछा मार्ने प्रयास भइ रहेको आरोप लगाएको छ।

पार्टी वरिष्ठ नेता सिद्दार्थ गौतमले हालै एक बिज्ञप्ति प्रकाशित गरी उक्त घटनाका सन्दर्भमा सत्य तथ्य छानबिन गरी त्यसको आधारमा उचित कारबाही गर्न नेपाल सरकार अघि बढिरहेको अवस्थामा उक्त प्रकरणलाई उछालेर धमिलो पानीमा माछा मार्न खोजिएको भन्दै भत्सर्ना समेत गरेका छन् ।
उनले बिज्ञप्तिमा अगाडी भनेका छन् – नेपाली कम्युनिस्टहरुको कुत्सित हर्कतको नेपाल जनता पार्टी तीव्र भर्तसना गर्दछ! पछिल्ला दिनमा आफ्नो देशद्रोही र जनविरोधी अनुहार उदांगो हुँदै गएपछि त्यसलाई ढाकछोप गर्ने प्रयासका रूपमा कम्युनिष्टहरुले चलाउन थालेको यो कलाविहीन नाटकले उनीहरुलाई जनताको घृणाको पात्र बन्न बाट रोक्न सक्नेछैन, किनभने नेपाली जनताले उनीहरूको कलाकारिता बुझिसकेका छन्!
यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने हर्कत गरेर नेपाली कम्यूनिष्टहरुले आफ्नो चरित्र थप उदांगो पारेका छन् ! कुनैपनि मित्रराष्ट्रको विशिष्ट व्यक्तिको पुत्ला कुनैपनि बाहनामा जलाउनु भनेको देशको छविमा कालो पोत्नु र देशलाई अनावश्यक द्वन्द्व तथा अशान्ति तिर धकेल्ने प्रयास हो! त्यसैले यो देशद्रोही एवं जनविरोधी हर्कत हो! नेपाल जनता पार्टी यस्तो हर्कतको तीव्र भर्तसना गर्दै कम्युनिष्टहरुलाई आफ्नो थान्कोमा बस्न चेतावनी दिन चाहन्छ!
वस्तुतः यो घटना चीनद्वारा पालित-पोषित नेपाली कम्युनिस्टहरूको चीनभक्तिको एउटा प्रकरण मात्र हो! हुम्ला जिल्लामा चिनले नेपालको सीमा अतिक्रमण गरेको कुरा जनप्रतिनिधिहरुले बारम्बार उठाउँदै आएका छन् भने नेपाल सरकारको सम्बन्धित निकायले औपचारिक एवं आधिकारिक रुपमा पुष्टि गरिसकेको छ! त्यसलाई यस अघिको कम्युनिष्ट सरकारले जनप्रतिनिधिहरूको दमन गर्दै निर्लज्जता साथ ढाकछोप गरेको कुरा जगजाहेर नै छ! आफूले नेपालको सीमाक्षेत्रको अतिक्रमणकारी कम्युनिस्ट चीन सरकार स्वयंले समेत चित्तबुझ्दो र स्पष्ट प्रतिवाद गर्न नसकेको पनि सबैसामु छर्लङ्ग छ! यस्तो अवस्थामा नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले सीमा अतिक्रमणबारे छानविन गर्न समिति गठन गरेको छ, जसको नेपाल जनता पार्टी देशभक्त नेपाली जनताको तर्फबाट हार्दिक स्वागत गर्दछ!
चीनले नेपाली भूमि अतिक्रमण गरेको नाङ्गो आँखाले छर्लङ्ग देख्न सकिने तथ्य ढाकछोप गर्न नसकिने भएपछि आफूलाई चीन सरकार भन्दा बढी देशभक्त देखाउन खोज्ने नेपालका कम्युनिष्टहरुले उक्त घटनाबाट जनताको ध्यान अन्यत्र मोड्न जय सिंह धामी प्रकरण उछाल्न खोजेको र मित्रराष्ट्र भारतका प्रधानमन्त्रीको पुत्ला जलाउन थालेको स्पष्ट भइसकेको छ! कम्युनिस्टहरु चीनको स्वामीभक्ति गर्न चाहन्छन् भने त्यो उनीहरूको बाध्यता अथवा खुशी होला! तर आफूलाई माओको मानसपुत्र मान्ने कम्युनिष्टहरु स्वामीभक्तिको नाममा देशद्रोही, राष्ट्रघाती र जनविरोधी हर्कत गर्ने छुट हुनसक्तैन! नेपाल जनता पार्टी, कम्युनिस्टहरूको यस राष्ट्रघाती श्रृंखलाका बिरुद्ध कडा भन्दा कडा रुपमा प्रस्तुत हुन नेपाल सरकारलाई आग्रह गर्दछ! साथै, नेपालमा द्वन्द्व र अशान्ति मच्चाउने यस्ता हर्कतलाई पर्दापछाडि बसेर प्रोत्साहन, सहयोग, मलजल र संरक्षण नगर्न कम्युनिष्ट चीनलाई चेतावनी दिन चाहन्छ।

