वडा अधिबेशन गराउन सभापति देउवाले प्रशासनको दुरुपयोग गरेको पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वडा अधिवेशन र क्रियाशील सदस्यता वितरणलाई निष्पक्ष बनाउन पार्टी सभापति शेरबहादुर देउवको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बिहान पौडेलसहित महामन्त्री डा. शशांक कोईराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले देउवालाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लाको वडा अधिवेशन प्रभावित भएको छ।यसबीच ,पौडेलले सभापति शेरबहादुर देउवाले प्रशासनिक दुरुपयोग गरेर लोकतन्त्रकै उपहास गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले भनेका छन्– नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता वेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो ।
पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र – तर व्यवहार अलोकतान्त्रिक !
नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरीक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।

