एमसीसी : सत्तागठबन्धन तोड्ने प्रयास भइ रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आरोप



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्ने प्रयास देशभित्र र बाहिरबाट भइरहेको बताएका छन् । सहिद सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेल (वैराग)को २२ औं स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसिसीको प्रयोग गरेर फुटाउन लागिरहेको आरोप लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धनलाई तोड्ने प्रयास पनि भइरहेको छ रे । देशभित्रबाट, देशबाहिरबाट । यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन हो । हामीले यो गठबन्धनलाई भनेका के छौं भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्ति भनेका छौं ।’

‘यसलाई कसरी विभाजन गर्ने ? एमसिसीलाई प्रयोग गरेर, एमसिसी भनेर ल्याइदिएपछि फुटाउन सकिन्छ कि भनेर लाइरहेका छन्’, प्रचण्डले अघि भने, ‘हामी चाँहि यथास्थितिमा एमसिसी हुन सक्दैन भनेर लागिरहेका छौं । हामी सकेसम्म गठबन्धनलाई सकेसम्म बचाएर यसको पनि क्षति नहोस भनेर लागिरहेका छौं । तर, अर्को वर्ग चुप लागेर बसेको छैन ।’

गठबनधनलाई कसरी तोड्ने र माओवादीहरूलाई कसरी घेरा हालेर सिध्याउने भन्ने खेल भइरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘अर्को वर्ग पनि पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोड्ने, माओवादीहरूलाई कसरी घेरा हालेर सिध्याउने ? किनभने तपाईं हामीले धेरै सोच्दैनौं, अर्कोको लागि हामी उस्तै छौं । हिजो जनयुद्धको बेलामा घेरा हाल्ने र सखाप पार्ने रणनीति थियाे, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो रणनीति थियो । अहिले पनि संसद विघटन दुईपटक भयो । उनीहरूले हामीलाई घेरा हालेर माओवादी एजेण्डा सिध्याउन लागेको हो ।’

‘हामीले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति लिएका हौं । हिजो बन्दुक लिएर गरिन्थ्यो अहिले हात लिएर, मुख लिएर गरिएको छ’, उनले भने ।

साथै, उनले एमालेमा विचार शून्य भएको टिप्पणी पनि गरे । एमाले पार्टीमा विचारमा बहस नभएको भन्दै विचारसँग कुनै मतलब नभएको उनको भनाइ छ । ‘एमाले भन्ने पार्टी विचार शून्य छ अहिले, त्यहाँ विचारमा बहस पनि हुँदैन । विचारसँग मतलब पनि छैन्’, सम्बोधनको क्रममा प्रचण्डले भने ।

त्यस्तै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय साम्राज्यवादीसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका एमालेले जानको आरोप पनि लगाए । उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय साम्राज्यवादीसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका जानेका छन् । त्यो पैसा खर्च गर्न कसरी गुट बलियो बनाउन सकिन्छ भन्ने जानेका छन् ।’

प्रतिक्रिया दिनुहोस्