वरिष्ठ अधिबक्ता शम्भु थापा भन्छन् – ‘पांच दलीय गठबन्धनको मार्गचित्र प्रष्ट छैन’



काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दलहरू सम्मिलित पांछ दलीय गठबन्धनको आफ्नो स्पष्ट मार्गचित्र नभएको आरोप लगाएका छन् । सोमबार विपक्षी गठबन्धनले बुद्धिजीवीहरुको सुझाव संकलन गर्न नयाँ बानेश्वरमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सो आरोप लगाएका हुन।

आफू सत्तामा नभएका बेला बुद्धिजीवीहरू चाहिने, तर सत्तामा पुगेपछि बिर्सने भन्दै थापाले व्यङ्ग्य गरे । वरिष्ठ अधिवक्ता थापाले प्रश्न गरे,‘ अहिले सरकारले गरेको असंवैधानिक नियुक्तिजस्तै भोलि विपक्षी दलले पनि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ?’

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा नेता अशोक राई र जनमोर्चा नेतृ दुर्गा पौडेलको सहभागिता रहेको अन्तरक्रियामा थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारले गरेको संवैधानिक नियुक्तिमा कति भाग पाएको छ भन्ने प्रश्न गर्दै देउवालाई त्यसबारे प्रस्ट जवाफ दिन आग्रहसमेत गरे ।उनले दलहरूले संविधानमै देश समाजवादतर्फ उन्मुख भनेर लेख्ने, तर त्यसका लागि एउटा विधेयकसमेत ल्याउन नसकेको उल्लेख गरे ।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले
विपक्षी गठबन्धनले समयमा एक्सन लिन नसक्दा राजनीतिक दुर्घटना बढ्दै गएको दावी गरे ।नेपाली राजनीतिमा गठबन्धनको च्याम्पटी कसले घुमाउँछ ? दाहालको प्रश्न थियो। दाहालले पहिलोपटक संसद् पुनर्स्थापना भएपछि विपक्षी दलले प्रधानमन्त्री हटाउन लाग्नुपर्नेमा अल्मलिँदा राजनीतिक समस्या बढेको बताए । माओवादीले सरकारलाई दिएको समर्थन समयमै फिर्ता नलिनु पनि रहस्यको विषय भएको उल्लेख गर्दै उनले संसद् पुनर्स्थापना भएको बेला सरकार हटाउन नसक्नु कमजोरी भएको उल्लेख गरे ।

छलफलमा प्राध्यापक विजय सिलवाल,पत्रकार सुरेश आचार्य, वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सविता भण्डारीले विपक्षी ५ दलको गठबन्धन भोलि भागबन्डा नमिलेपछि छुट्टिने त हैन भन्दै प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्