मेयर शेर्पाद्वारा सेर्गा-माप्यदुधकोशी-खुम्बु सडक खण्डको शिलान्यास



सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्वु शेर्पाले शेर्गा माप्य हुँदै खुम्बुपासाङ ल्हामु गाउँपालिका जोड्ने सडक खण्डको शिलान्यास गरेका छन् ।
नगरपालिकाको वडा नं. ४ शेर्गामा आयोजित कार्यक्रममा शेर्पाले बुधबार सो सडक खण्डको शिलान्यास गरेका हुन् ।

नगरपालिकाको सल्लेरी जिरोपोइन्टबाट साँडे दस किलोमिटर रहेको सडक खण्ड सिलगुडी डाँडा– काँकुवास– वर्लाङघाट– जुबिङ– खरिखोला– लुक्ला हुँदै खुम्बुसम्म पुग्ने कार्यक्रममा जानकारी गराइएको थियो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले यो सडक माप्य दूधकोशी र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका जनताको ‘लाइफ लाइन’ सडक भएकाले यसलाई समयमै सम्पन्न गर्नु पर्ने दायित्व रहेको बताएका थिए ।

खुम्बु क्षेत्रमा पर्यटन प्रबर्द्धनका लागि यो सडक खण्ड महत्वपूर्ण हुने बताउंदै उनले माप्य र खुम्बुका जनताहरुको जीवनस्तर सुधारमा कोसेढुंगा सावित हुने उनको भनाई थियो । स्थानीयको सहयोग भएको खण्डमा निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको समेत उनले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्