रबिन्द्र मिश्र भन्छन्-‘उज्ज्वल थापाको उपचारमा सहयोग जुटिरहेको छ, प्रसाईको पर्दैन’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको सहयोगका लागि दुर्गा प्रसाईंको आर्थिक सहयोग आवश्यक नपर्ने बताएका छन् । उज्वल थापाको स्वास्थ्य स्थितिबारे अपडेट गराउँदै मिश्रले दुर्गा प्रसाईंलाई सद्भावका लागि धन्यवादभन्दै उनको सहयोग आवश्यक नपर्ने बताएका छन् ।

“नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनुभएको तपाईंहरूलाई अवगतै छ । यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ईसीएमओ प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ,” मीश्र भन्छन्, “चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ ।”
हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २९१ र नेपालमा बैंक खातामा २६ लाख ५० हजार जम्मा भएको मिश्रले जानकारी दिएका छन् ।
“सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ,” मीश्र लेख्छन्, “हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।”

