सुबिधासम्पन्न १०० बेडको क्वारेन्टाइन निर्माण जुट्यो सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले कोरोना संक्रमणबाट संक्रमित जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै सुबिधासम्पन्न १०० बेडको क्वारेन्टाइन निर्माणलाई तीब्रता दिएको छ।

कोरोना संक्रमणको दोश्रो लहर सुरुभए यता स्थिति भयानक हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सुबिधासम्पन्न क्वारेन्टाइन निर्माण गरिरहेको नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए।नगरपालिकामा ५० बेडको कोरेन्टाइन तयारी अवस्थामा छ, तर जोखिम बढ्यो भने त्यसले धान्दैन भनेर हामी थप ५० बेड क्वारेन्टाइन निर्माण गरिरहेका छौं, नगरप्रमुख शेर्पाले भने,- अहिलेको संक्रमणदरलाई हेर्दा यसै हो भन्न सक्ने अवस्था छैन,त्यसैले पनि जनस्वास्थ्यलाई जोखिममा पर्न नदिन हामीले तयारी सुरु गरेका हौं।

नगरपालिकाभित्र संक्रमितहरुको संख्या न्यून रहे पनि अवस्था भयावह बन्दै गएकोप्रति सचेत रहनु नै अहिले का लागि बुद्धिमानी हुने शेर्पाको भनाइ छ।कोरोना संक्रमणबाट जोगिने सबैभन्दा उत्तम उपाय शून्य सम्पर्क रहेकोले निषेधाज्ञा र स्वास्थ्यमापदण्डको पुर्ण पालना गर्न आग्रह गर्दै उनले जोखिम बढेको खण्डमा नागरिकहरुको स्वास्थ्य रक्षा का लागि नगरपालिकाले सक्दो प्रयत्न गर्ने बताए।क्वारेन्टाइन निर्माण यसैको एउटा उदाहरण भएको बताउंदै शेर्पाले भने- ‘आवश्यक परेको खण्डमा क्वारेन्टाइनलाई नै आइसोलेसनमा रुपान्तरण गर्न सक्ने गरि हामीले तयारी गरिरहेका छौं।’

क्वारेन्टाइनमै १० थान अक्सिजन सिलिन्डर , २०० वटा एन्टिजेन, केहि थान कन्सन्ट्रेटर लगायत अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको पनि व्यवस्था गरिएको नगरप्रमुख शेर्पाले बताए । जिल्ला अस्पताल फाप्लुमा २० बेडको आइसोलेसन छ, संक्रमितहरुको संख्या बढ्दै गयो भने त्यसले धान्दैन,- ‘त्यो अवस्थामा क्वारेन्टाइनलाई नै आइसोलेसनमा रुपान्तरण गरेर संक्रमितको जीवनरक्षाका लागि पहल गर्नुपर्ने हुन सक्छ ।’

