सगरमाथा आधारशिविरबाट फर्केका भारतीयसहित थप ११ जनामा कोरोना



सोलुखुम्बु । सोलुखुम्बुमा आज एकै दिन थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल फाप्लुमा ११ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिए।

कोरोना पुष्टि हुनेहरूमा सोलुदुधकुण्ड नगरपालिका–४ का ३ जना पुरुष र ४ जना महिला गरी ७ जना र महाकुलुङ गाउँपालिका ठेगाना भएका १ जना पुरुष छन्।

यस्तै सगरमाथा आधार शिविर पुगी फर्केका एक भारतीय नागरिकसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा मंगलबार उनीहरूको एन्टिजेन परीक्षण गरिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन्।

उनका अनुसार कोरोनाको संकास्पद लक्ष्यण देखिएका १४ जनाको परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो। खुम्बुपासाङ ल्हामु गाउँपालिका ठेगाना भएका १ महिलासहित ९ पुरुष आधार शिविरसम्म पदयात्रामा रहेका विदेशी पर्यटकको सहयोगीका रुपमा गएको पाइएको संयोजक तामाङले बताए।

भारतीय नागरिक भने सगरमाथा क्षेत्र भ्रमणमा आएका बताइएको छ।

योसँगै सगरमाथा आधारशिबिरबाट फर्किएका २९ जनामा संक्रमण पुष्टि भएको छ। दुई जना विदेशीलाई थप उपचारका लागि काठमाडाैं पठाइएको छ। हालसम्म जिल्लामा ८३ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ।

सगरमाथा आधारशिविरबाट फर्कनेमा कोरोना देखिने क्रम बढी रहेको भए पनि आरोहीमा भने यसको प्रभाव नभएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्। सगरमाथा आरोहणको तयारीमा रहेकाहरूले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरिरहेकाले कोरोना संक्रमणको जोखिम कम रहेको निर्देशक आचार्यको भनाइ छ।

विगत वर्षमा विभिन्न आरोही समूहबीच भेटघाट तथा सम्पर्क हुने भए पनि यस वर्ष पूर्ण रुपमा बन्द रहेको आधारशिविर पुगेका सम्पर्क अधिकृतले बताएका छन्। सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले विगतमा जस्तो आरोहणसम्बन्धी सूचना लिन र दिन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दा केही असहज भएको बताए।

विगत वर्षमा विभिन्न समूहमा पुगेर जानकारी लिने दिने गरिने भए पनि यस वर्ष टेलिफोनमा मात्रै कुराकानी हुने गरेको बताए।

थाहा खबरबाट साभार
प्रतिक्रिया दिनुहोस्