कोरोना संक्रमण दर भारतमा भन्दा नेपालमा बढी

काठमाडौं, १९ वैशाख । कोरोना संक्रमण दर शनिवार करीब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४०३ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना अर्थात् ३९.६१ प्रतिशतमा संक्रमण देखिएको छ ।

यो हालसम्मकै उच्च संक्रमण दर हो । यसअघि गत बिहीवार संक्रमण दर ३८.३५ प्रतिशत थियो । ‘केही दिनयता हामीकहाँ संक्रमण दर भारतको दाँजोमा बढी देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने ।
कोरोना संक्रमणले शनिवार १९ जनाको मृत्यु भएसँगै १ हप्तामा ज्यान गुमाएकाको संख्या १६२ पुगेको छ । हाल सरदर २०० जना प्रयोगशाला प्रमाणित संक्रमितमा १ जनाको मृत्यु भइरहेको छ । १ हप्तामा ३१ हजार ८०६ जना पीसीआर प्रमाणित संक्रमित देखिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७०६ जनामा संक्रमण पाइएको छ । १ दिनमा संक्रमण पुष्टि भएको यो संख्या पनि हालसम्मकै बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मुलुकमा सक्रिय संक्रमितको संख्या हरेक दिन एकदेखि डेढ प्रतिशतका दरमा बढिरहेको छ । हाल देशभरिमा कोभिडका ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित छन्, जुन कूल संक्रमितको १३.१४ प्रतिशत हो । १ जना संक्रमितले अन्य व्यक्तिलाई सार्ने दर समेत केही दिनयता भारतको दाँजोमा नेपालमा बढी देखिएको छ ।
‘हामीकहाँ कुनै ठाउँमा संक्रमित व्यक्ति पहिचान हुँदा उनका वरिपरिका सबैजसो कोभिड पोजिटिभ देखिने अवस्था छ,’ सहप्रवक्ता डा. अधिकारीले भने ।
संक्रमित भइसकेपछि ढिलो अस्पताल पुग्ने भएकाले पनि मृत्युदर बढेको हुन सक्ने उनले बताए । ‘हाल अधिकांश व्यक्तिले कोभिडको आशंका हुनासाथ परीक्षण गराउँदैनन्,’ उनले भने, ‘अवस्था जटिल भएपछि अस्पताल आउँछन् ।’ विज्ञहरूका अनुसार हाल कोरोना संक्रमणको आशंका लाग्नासाथ १० दिनदेखि १५ दिनसम्म क्वारेन्टीनमा बस्ने प्रवृत्ति कम देखिएको छ ।
अधिकांशले संक्रमणको सुरुवातमै परीक्षण नगराउँदा समाजमा फैलिरहेको उनीहरूको आकलन छ ।
कोराना संक्रमणले आईसीयू र भेन्टिलेटरमा जानेको संख्या पनि हरेक दिन बढ्दो छ । मुलुकभरमा शनिवार ४०१ जना आईसीयूमा र ११० जना भेन्टिलेटरमा गरी ५११ जना सघन उपचारमा छन् ।
काठमाडौं उपत्यकामा आईसीयूमा १३४ र भेन्टिलेटरमा ५६ जना छन् । कान्तिपुर दैनिकमा खबर छ ।

