आजदेखि काठमाडौं उपत्यकाका ३ सहित १५ जिल्लामा निषेधाज्ञा सुरु

काठमाडाैँ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा सुरु गरेको छ । आजदेखि काठमाडौं उपत्यकाका ३ जिल्लासहित विभिन्न १५ जिल्लामा निषेधाज्ञा लागू भएको हो ।

१५ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ । गृह मन्त्रालयका अनुसार १२ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको लागू भएकाे हाे । ३ जिल्लामा आंशिक रूपमा लकडाउन गरिएको छ । पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका चितवन, बाँके, पर्सा, रुपन्देही, कास्की, दाङ, सुर्खेत, पाल्पा र कैलाली छन् ।
उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएकाे हाे भने बाँकेमा सोमबारदेखि निषेधाज्ञा लागू भइसकेको छ । त्यस्तै, सुर्खेतमा मंगलबारबाट, कास्कीमा बुधबार, चितवन र कैलालीमा आजदेखि तथा पाल्पा र दाङमा शुक्रबारदेखि निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ ।
बर्दिया, कालिकोट र बाग्लुङका धेरै संक्रमण देखिएका क्षेत्रमा मात्र लकडाउन गरिएको छ । ‘हालसम्म १२ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञाको निर्णय भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने, ‘संक्रमणको अवस्था हेरेर लकडाउन तथा निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई अनुमति दिइएको छ ।’

