उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेका छन्। प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य मापदण्ड पालना गरेर अत्यावश्यक सेवा प्रवाह गर्ने र अन्य सेवा तत्काल एक साताका लागि स्थगन गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवा वैशाख १३ देखि २० गतेसम्म स्थगित गरिएको बताए।
पराजुलीका अनुसार नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता लगायतका सेवा स्थगित गरिएको छ। शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य र अत्यावश्यक सिफारिसका सेवा बन्द हुने छैनन्।
अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ।

