खुम्बु पासाङल्हामु : पेशागत हकहितको माग गर्दै शिक्षकहरुले गराए पालिकाको ध्यानाकर्षण



सोलुखुम्बु ।नेपाल शिक्षक महासङ्घ स्थानीय समिति खुम्बु पासाङल्हामु गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुका पेशागत हकहितका कुराहरु समेटी माग पत्रसहित सम्बन्धित स्थानीय निकाय खुम्बु पासाङल्हामु समक्ष समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

७ बुँदे माग राख्दै समस्या समाधान र कार्यान्वयनका लागि यथाशीघ्र पहल गरिदिन अनुरोध गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराई समक्ष सो जानकारी गराएको हो । जानकारी पत्र बुझ्दै गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत भट्टराईले शिक्षकका पेशागत हकहितका लागि तत्काल पूरा गर्न सकिने कुरालाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने र केही मागहरुको विषयमा कार्यपालिका र शिक्षा समितिको बैठकमा छलफल गरी कार्यान्वयन तहमा लैजाने धारणा व्यक्त गर्नुभयो साथै भट्टराईले शिक्षकका पेशागत समस्या समाधानमा आफू सधैं प्रतिबद्ध र सकारात्मक रहेको भन्दै शिक्षक एकताले माग सम्बोधनमा टेवा मिल्ने बताउनुभयो ।

नेपाल शिक्षाक महासङ्घ स्थानीय समितिका अध्यक्ष कुमारसिंह राई र सचिव खगिन्द्रराज बास्तोलाको संयुक्त हस्ताक्षरित माग नेपाल शिक्षक महासङ्घ खुम्बु पासाङल्हामु गाउँपालिकामा कार्यरत शिक्षकहरुको २०७७ चैत्र १४ गते बसेको भेलाबाट छलफल गरिएका निर्णयहरु समेटी तयार पारिएको महासङ्घ स्थानीय समितिअध्यक्ष कुमारसिंह राईले जानकारी दिनुभयो ।
खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका १६ ओटा सामुदायिक विद्यालयमा ११६ जना स्थायी, राहत, करार, अनुदान, बाल विकास सहयोगी कार्यकर्ता कार्यरत रहेका छन् । माग पत्रमा शिक्षकहरुको संचय कोष तथा नागरिक लगानी कोष समयमा जम्मा गरिनु पर्ने, मासिक रुपमा तलब भत्ता व्यवस्थापन, समान कामका लागि समान सेवा सुबिधा दिलाउन स्थानीय दुर्गम भत्ता पाउनबाट बञ्चित शिक्षहरुलाई भत्ताको व्यवस्थापन गरिनुपर्ने, विद्यालयको आवश्यकता र शिक्षकको सहमतिमा सरुवा गरिनुपर्ने, गाउँ शिक्षा समितिमा शिक्षक महासङ्घ प्रतिनिधि मनोनयन गर्नुपर्ने लगायतका मागहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्