काठमाडौंबाट पाँच पोखरीसम्मको अविस्मरणीय पदयात्रा
ई. सुजन शर्मा,
यात्रा एउटा नशा रहेछ । त्यसमा पनि अझ यो पदयात्रा ! दैनिक व्यस्त जीवनबाट दिक्क भइसकेको म । यस्तो बेला यसबाट छुटकारा पाउन कसलाई पो मन नहोला र ! यसमा पनि म घुम्न र प्रकृतिसँग डुल्न रुचाउने मान्छे म। तर कहाँ जाने, कोसँग जाने र कहिले जाने भन्नेबारे मैले सोचिसकेको थिंइन ।
पाँच पोखरीहरू एकै ठाउँ रहेको थलो । त्यो पनि करिब ४४ सय मिटर उचाइमा । यसैबीच हामी २०८१ साल कार्तिकको ९ गते शनिबार पाँच जनाको टिम पाँच पोखरी जाने तय भयो । अनि यति भएपछि मलाई पनि के चाहियो!
पहिलो दिन
जीवन पनि एक यात्रा हो । अनि जीवनको अर्थ ती अनगिन्ती गन्तव्यहरूको यात्रालाई छिचोल्नु हो । यात्रा र गन्तव्यकैबीचमा घुम्छ जीवन । काठमाडौंबाट पाँचपोखरी यात्रा तय गर्दा सार्वजनिक यातायातबाट पाँचपोखरी जाने हो भने काठमाडौंको चाबहिलबाट बिहानै महाकुलुङको लागि गाडी छुट्ने गर्दछ । हवाईयात्राका लागि काठमाडौंदेखि फाप्लु अनि सल्लेरीबाट महाकुलुङ जीप/बोलेरो बाट पुग्न सकिन्छ । बुङबजार, जुन बस यात्राको अन्तिम गन्तव्य हो । हामीले यात्रा शुरु गर्यौं सोलुखुम्बुको सल्लेरी जिरो पोइन्टदेखि बिहान १० बजे । लगभग ६ घण्टामा बुङ बजार पुग्यौं । त्यहाँ पुग्नेबेला सम्म भोक पनि लागिसकेको थियो । हामीले त्यहाँ खाजा खायौं । खाजा खाने क्रममा हाम्रो भेट त्यहॅाका स्थानिय सुकुम्बासी माइला दाई संग उहाकै होटलमा भयो। होटलको टेबलमा सुकुम्बासी माईला दाईको कविताको डायरी हाम्रो हात पर्यो। शब्द चयन र लेखन सीप एकदमै मन पर्यो । यस दिनको हाम्रो योजना खिरौलेसम्म पुगेर बस्नु थियो । बुङबाट बोलेरो खिरौलेसम्म जाने रहेछ।हामीले त्यही बोलेरोमा यात्रा सुरु गर्यौं। बाटो कच्ची भएकाले बिस्तारै यात्रा गर्दै हामी खिरौंले बेलुका साझॅमा पुग्यौ। हामीलाई खिरौंलेमा बासको प्रबन्ध साथी अर्जुन कुलुङले (होटल Snowland )गरिदिनु भएको थियो। खिरौलेमा होटलहरुको ब्यबस्था राम्रो रहेछ। हामीलाई जाने बित्तिकै होटलको दिदिले नमस्कारसहित न्यानो स्वागत गर्नुभयो। केहि समय होटलमा बसेपछि हामी कोठामा गएर फ्रेस भएर एकछिन खिरौलेलाई हेर्यौं। होटलमा केहि समय चिया खाँदै गफगाफ गर्दै गर्दा खाना खाने बेला भएछ। खाना खाइ सकेपछि हामी सुत्ने तयारीमा जुट्यौ। भोलिपल्ट अलिक धेरै नै हिड्नु पर्ने भएकाले बिहान छिट्टै उठ्ने बाचासहित हामी सुत्यौ।
दोस्रो दिन
बिहान ६ बजे उठेर नित्य कर्म सकेर खिरौलेलाई फेरि एक पटक ॲाखामा राखेर हामी पॅाचपोखरी यात्रामा हिड्न तयारी गरेका थियौं।होटलको दाईलाई मालिङ्गोको लौरो काट्न लगाएर चिया पिएर हामीले यात्रा अगाडि बढायौ। खिरौलेबाट उकालो केहि तेस्रो बाटो हिंड्दै हामी भिरथाप्ला(२६५०) पुग्यौं। हामीलाई भिरथाप्ला पुग्न करिब २ घण्टा लाग्यो।तेहा टी हाउसको ब्यबस्था रहेछ। तर हामी भने सरासर अगाडी बढिरह्यौ।
यात्राको क्रममा अपरिचित मान्छेहरूसँग भेट भयो र उनीहरूसँगै हामी पनि चिनाजान गर्दै रमाईलो गर्दै अगाडी बढ्यौं । यात्राको विशेषता नै यही हो । कहाँ हो कहाँको मान्छेलाई एक छिनमै आफ्नाहरू जस्तै बनाइदिन्छ।
यात्राको क्रममा उकाली ओराली गर्दै त्यो जंगलको बाटो,शान्त वातावरण ,खोला नाला अनि प्रकृतिसँग रमाउँदै हामी सबै एउटै गतिमा पाईला अघि सार्दै छाराखर (२९३०)पुग्यौं । हामीले छाराखरमा खाजा खाएर यात्रालाई अगाडी बढायौं। छाराखरबाट भने बाटो जंगल र उकालो सुरु हुने कुरा होटलको दाईले जानकारी दिनुभयो। हामीले हिड्ने बेलामा तातो पानी बोकेर यात्रा शुरु गर्यौं। कतै तेस्रो कतै उकालो जंगलको सुनसान बाटो हुदै फोक्टेपोखरी(कालोपोखरी) पुग्यौं। कालोपोखरी पदमार्ग भन्दा केहि तल रहेछ तर टाढाबाट हेर्दा एकदमै कालो र बिशाल देखिने रहेछ। यसको दर्शन जादा नै गर्नुपर्ने फर्किदा गर्दा मागेको कुरा पुरा नहुने बिश्वास रहेछ त्यही अनुसार दर्शन गरेर हाम्रो यात्रा चोल्यामतिर अगाडि बढायौं।
हामी चोल्याम(३५००) पुग्दा दिउसोको १ बजेको थियो। हामीले खानाको ब्यब्स्था चोल्याममा गरेका थियौ तयारि भइसकेको थियो हामीले खाना खायौ। चोल्याम विदेशी पर्यटकको चाहि तकेकेक्याम्प रहेछ हामी छिट्टै चोल्याम पुगेसि हामिले यात्रा खोलाखर्कतिर अगाडि बढायौ।
चोल्यामबाट बाटो अब उकालो भिरको मात्र बाटो भएको थाहा पाइयो। हरियाली वातावरण, अग्ला होचा थुम्का हरु काट्दै हामी निरन्तर यात्रामा अगाडि बढिरह्यौ। अब भने हाम्रो बाटो नोगवेली उकालो सुरु भएको थियो यसलाई यो यात्राको अप्ठयारो उकालोको रुपमा लिइने रहेछ।यात्रामा माथिबाट तल झरिरहेका खच्चड जोक्पे हरुलाई साइड दिदै तिनै खच्चड, जोक्पेका सहयोगी भाईहरुसंग गफ गर्दै हामी हिडिरह्यौ।अब बिस्तारै रुख बिरुवा हराउदै गइरहेका थिए। हामी पनि बिस्तारै बस्दै तातोपानि र चकलेटको साहारमा हुरहुरे पासमा(४२८६) पुग्यौ।
हुरहुरे पासमा बिसाउनका लागि चौतारो रहेछ तेहि चौतारोमा एकछिन बिसाएर फेरि हामीले यात्रा शुरु गर्यौ। पहाडको डाँडाबाट बाटो भएकोले चिसो हावा खादै हामी अगाडि बढिरह्यौ।
घामले बादलसंग लुकामारी खेलिरहेको हुँदा कहिले गर्मी त कहिले जाडो हुँदै थियो। आँखै अगाडि मेरापिक हिमाललाई राखेर हिंड्दै गर्दा हामी कुन बेला झारखर्क(४३००)पुग्यौं पत्तै भएन।
झारखर्कमा एउटा सानो टी हाउसको ब्यबस्था रहेछ। हामीले त्यंहा कालो कफि बनाउन लगाएर खायौं। त्यंहा पुग्दा बिस्तारै जाडो संगै रात पनि पर्न लागिसकेको थियो। हामी थोरै समय बसेर फेरि यात्रा अगाडि बढायौं। सुनपातिको बास्नासंगै जाने अबको उकालो हामीले बिस्तारै हिड्दै गयौं। केही उकालो त केही तेस्रो बाटो हुँदै हामी हाम्रो यात्राको सबैभन्दा अग्लो ठाउॅ कोनखेलु चो (४४६०) मा पुग्यौ । यहॅा पुग्दा भने सॅाझ राम्रैसंग परिसकेको थियो।
कोनखेलु चो मा फोनको टावर आउने रहेछ र सो ठाउँबाट हामीले घरमा सम्पर्क गरेर फेरि यात्रा अगाडि बढायौं। कोनखेलु ओरालो झर्दै गर्दा पॅाचपोखरी पहिलो चोटि देखियो। तर साँझमा देखिएकाले यो हो रहेछ भन्ने मात्र हामीलाई भयो।
होटल भएको ठॅाउ खोलाखर्क(४१००)पॅाचपोखरीबाट केही तल नै थियो। हामी मोबाइलमा बत्ती बाल्दै खोलाखर्क सम्म पुग्यौं। खोलाखर्क पुग्दा सॅाझको लगभग ८ बजेको थियो। खोलाखर्क होटलकी दिदी सार्है फरासिली र हाँसिमजाक गरिरहने खालकी हुनु हुँदोरहेछ।
हामी झोला नै नराखी दिदिसंग हाँसिमजाकमा लाग्यौ। दिदिले हतार हतार गरेर चिया बनाइदिनु भयो, चिया पिएर हामी कोठा हेर्न गयौं। बिहान ७ बजेदेखि हिंडेको ज्यान बेलुका ८ बजे ओछ्यान भेट्दा हामी पल्टिन पुगेछौ। बिस्तारै कपडा चेन्ज गर्दै रुममा आराम गर्दैगर्दा दिदिले खानाको निम्तो दिनुभयो।
खाना खाने क्रममा दिदिले फेरि हसाउँन थाल्नुभयो। गलेको शरिर भएकाले धेरैबेर नबसी हामी सुत्न गयौं।
तेस्रो दिन
बिहान साँढे ५ बजे उठियो । बिहान उठ्दा यात्राभरका सबै दुःख एक निमेषमै बिर्सियो। चिसो हावा, पहाड र हिमालको काख एकैछिन हेर्दै मनमनै भन्यौं प्रकृति बेजोड छ। हाम्रो कुरा बिहानै पाँचपोखरी जाने भन्ने थियो तर होटलको दिदिसंगै त्यँहाका दाई दिदिहरुको कुरा अनुसार खोलाखर्क भन्दा माथिको डॅाडाबाट पॅाचपोखरी मज्जाले देखिन्छ भन्ने भएपछि हामी लाग्यौं त्यो डॅाडातिर त्यो डॅाडा कोठे जाने बाटोतिर पर्ने रहेछ।
लगभग ३० मिनेटमा हामी त्यो डॅाडामा पुग्यौं, साच्चै सुन्दर देखिने रहेछ पॅाचपोखरी त्यहॅाबाट । पहाडको काखमा बसेका ती पोखरीहरुमा निलो आकाश र त्यसका बादल ऐनाजस्तै सजिएका थिए। अर्कोतिर अग्लो पहाडमाथि लमतन्न परेको भूभागमा पाँच वटा पोखरीहरू, वरिपरी अग्ला होचा थुम्काहरू, जहाँबाट नियाल्दा एकातिर तँछाडमछाड गर्दै उभिईरहेका पहाडका चुचुराहरू देख्न सकिन्छ त्यहाँ पुगेपछि त सबै दुखाई बिर्सँदै प्रकृतिमा रमाउन थाल्यौं। हामीले त्यो समयलाई यादगार बनाउन केहि थान फोटोहरु सुरक्षित गर्यौं र फेरी खोलाखर्क फर्कियौं।
खोलाखर्कमा हिसाबकिताब सकेर हामी पॅाचपोखरी दर्शनमा निस्क्यौं। पॅाचपोखरी पुग्न अब भने उकालो बाटो हिड्नु पर्नै रहेछ।
हामी बिस्तारै गोठालो पोखरी ,बुहारी पोखरी ,छोरा पोखरी, आमा पोखरी हुँदै सबैभन्दा ठुलो बुवा पोखरीमा आईपुग्यौं। पहाडको काखमा बसेका यी पोखरीहरु साँच्चिकै मनमोहक रहेछन। प्रत्येक पोखरीमा केहि थान फोटोहरु सुरक्षित गरेर हामी बुवा पोखरीमा पुजा गर्न थाल्यौं। पुजा गरिसकेपछि सुद्द जल एउटा बोतलमा राखेर धित मरुन्जेल बुवा पोखरीलाई नियाल्यौ र करिब १० बजे हामी पॅाचपोखरीलाई बिदा गर्दै ओरालो चोल्यामतिर झर्न थाल्यौ।
झारखर्कको दाईले हामीलाई कोशेली स्वरुप भैरमपाति दिनुभयो र हामीले दाईलाई धन्यबाद भनेर ओरालो झरिरह्यौं।
बाटोमा भेटिने पोटर, गाइड र पर्यटकहरुसंग गफ गर्दै हामी हुरहुरे पास आइपुग्यौं। हुरहुरेपासको ओरालो पनि साँच्चै अप्ठयारो रहेछ, बिस्तारै हिडिरह्यौ। ओरालो झर्दै गर्दा हामीले हिमाली भेगमा पाइने दुर्लभ जनावर झारल देख्यौंय एकदमै सुन्दर । त्यो खुल्ला आकाश अनि भिरलाई घर बनाएर बसेका थिए ती झारलहरु।
दिउँसोको १ बजे चोल्याममा आएर खाना खाएर केही समय पछि हामी खिरौलेतिर अघि बढ्यौं। खिरौंलेमा हामीले बुङसम्म जाने गाडीको टुङ्गो गरिसकेका थियौं, त्यसै अनुसार हामी खिरौंले झरेर साँझमा गाडी चढेर बुङ एभरेष्ट होटलमा पुग्यौ। होटलबाट फ्रेस भएर भोलि सल्लेरी जाने टुंगो गरेर खाना खाएर सुत्यौं।
धार्मिक र पर्यटकीय दृष्टिकोणले यसको धेरै महत्व रहेछ । यस स्थानमा प्रत्येक वर्ष वैशाख महिनाको चण्डी पूर्णिमा र श्रावण महिनाको जनै पूर्णिमामा ठूलो मेला लाग्ने रहेछ। यस ठाउँबाट मेरापिक, किम्पा, नुम्वुर तथा नदी, ताल, झरना आदि अत्यन्तै रमणीय दृश्यहरूको अवलोकन गर्न सकिन्छ । यो पदमार्गमा थुप्रै झरना, चराचुरुङ्गी, गुफा हेर्न पाइनुका साथै वन्यजन्तुको पनि दृष्यावलोकन गर्न सकिनेरहेछ। यहाँवाट कुलुङ राई र शेर्पा समुदायको बिभिन्न बस्ती हुँदै तिनका संस्कृति, रहसहन र स्थानीय खानपिनको साथै सगरमाथा, ल्होत्से, मकालु, चामलाङ, मेरापिक लगायत दर्जनौं हिमालको अवलोकन गर्न सकिनेरहेछ।
यात्रीहरूलाई मात्र थाहा हुन्छ यात्राको महत्त्व । नयाँ यात्राको आरम्भ एउटा नयाँ सिकाई र भोगाईको आरम्भ हो । हरेक नयाँ गन्तव्यको यात्राले मानव मस्तिष्कमा एउटा नयाँ आशा, विचार, विमर्शको विकास गर्दछ । त्यसैले यात्रीहरू सधै एउटा अदृश्य गन्तव्यका भोकमा डुबिरहन्छ। त्यसैले आज मैले एउटा अद्भुत पर्यटकीय गन्तव्य पाँचपोखीकोबारेमा आफ्नो पहिलो पदयात्राको अनुभव बताउने प्रयास गरें । हुन त त्यो गन्तव्यलाई कुनै परिचयको खांचो छ जस्तो लाग्दैन । सायद तपाईहरू पुगिसक्नु भएको पनि हुन सक्छ । कसै कसै दुईतीन चोटिपनि पुगिसक्नु भएको होला । तर, गन्तव्य हरेक पल्ट नवीन छ । गन्तव्य आफैँ एउटा सृष्टीकर्ता न हो । नेपालमा धेरैवटा पाँचपोखरीहरू रहेका छन् ।। म त पुगेँ अब तपाईंहरू पनि एकपटक पुग्नुस है त ।