बाबुराम फर्किए लगत्तै किन निस्किए पूर्बराजा ज्ञानेन्द्र भारत भ्रमणमा ?



काठमाडौं, २१ फागुन । नेपालमा राजनीतिक संकट पार नलागेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमलसहित भारत पुगेका छन्। झापामा रहेका उनी काकडभिट्टा नाका हुँदै पश्चिम बंगाल भ्रमणमा पुगेका हुन्। उनी मुम्बई र नयाँ दिल्लीसम्म पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

पश्चिम बंगालमा अहिले चुनावी चहलपहल चलिरहेको छ। भारतीय जनता पार्टीका प्रभावशाली नेता पनि अहिले पश्चिम बंगालमा चुनावी प्रचार तथा सभाका लागि आइरहेका बेला पूर्वराजा ज्ञानेन्द्रको भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

चुनावी चहलपहलका बेला भारतीय सुरक्षा निकायले नाकामा कडाई गरे पनि पूर्वराजालाई भ्रमणका लागि स्वीकृतसहितको सुरक्षा प्रबन्ध मिलाइएको छ।

नेपालमा प्रतिनिधि सभा पुनर्स्थापनापछि बैठक बस्न लागेको छ भने सत्ता समीकरणका विषयमा पनि राजनीतिक दाउपेच चलिरहेका बेला पूर्वराजाको भारत भ्रमणलाई जोडेर संश्लेषण गरिएको छ।

नेपालको सत्ता राजनीतिमा भारतीय शक्तिको प्रत्यक्ष सरोकार रहेको चर्चा पनि चलेको थियो। नेपालका राजनीतिक दलका नेता उपचारका नाममा यसै महिनामा नयाँ दिल्ली पुगेका थिए। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचाकार निम्ति मुम्बई, झलनाथ खनाल र बाबुराम भट्टराई भने नयाँ दिल्ली पुगेर फर्किएको केही दिनमा नै पूर्वराजा भारत लागेका हुन्।

उनी पहिलो दिन पश्चिम बंगालको सिलिगुरीमा बसेका थिए। बुधबार भारत गएका उनी १० दिनसम्म उतै रहने सचिवालयले जनाएको छ। ‘कुन ठाउँसम्म जाने र कार्यक्रम के के छन् भन्नेबारेमा जानकारी छैन। तर उहाँ भ्रमणका लागि जानुभएको सत्य हो’, पूर्वराजा सचिवालयका डा। फणि पाठकले भने,‘ स्थलमार्ग हुँदै नै उहाँ जानुभएको हो।’

प्रतिक्रिया दिनुहोस्