बिरोधीहरु आत्तिएका छन, मेरो ज्यान तल माथि हुनसक्छ : प्रधानमन्त्री ओली

पोखरा ,१७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मारिन सक्ने खतरा रहेको दाबी गर्नुभएको छ । उहाँले आफ्नो ज्यान गएपनि आन्दोलन नमर्नेसमेत बताउनुभयो ।

पार्टीका कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले आफुमाथि सम्पूर्ण प्रहार केन्द्रित भइरहेको भन्दै ज्यान नै तलमाथि हुन सक्ने बताउनुभयो । सरकारका विकासका काम देखेर विरोधी आत्तिएको र आफूमाथि प्रहार गरिरहेको प्रधानमन्त्रीको दाबी छ ।
सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरहेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफुमाथि शारीरिक हमलासम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो “सम्पूर्ण रुपमा ममाथि प्रहार अत्यन्तै तिब्र गतिले भइरहेको छ । तपाईहरु अनौठो नमान्नुहोला यदि म माथि शारीरिक हमला नै भयो या मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला तर त्यस्तो हुन दिइने छैन । सतर्कता अपनाइनेछ । म रहिन भने पनि केही छैन । आन्दोलन छ पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादीतत्व र तीनका मतियारहरुसँग घुँडा टेक्न हुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन ।”

