अबिश्वासको प्रस्तावबाट हटाउन चुनौती दिंदै ओलीले भने,-‘झुसे बारुलाहरुसंग डराउन्न’

झापा, १६ फाल्गुन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् । आफूलाई हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय विनय गरेपनि देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किएको उनको दाबी दावी थियो । झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए आफू फेरि जनताबाट निर्वाचित भएर आउने दाबी समेत गरे।

ओलीले यसअघि पहिलोपटक प्रधानमन्त्री बन्दा पनि अविश्वासको प्रस्ताव राखेर हटाइएको स्मरण गर्दै अहिले पनि हटाउन चुनौती दिए । ‘संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो । केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु,’ ओलीले भने ।
ओलीले राजतन्त्रसँग लडेको आफू प्रचण्ड–नेपालसँग नडराउने बताए । ‘झुसेबारुलाहरूले फुर्ती नलगाए हुन्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले आइतवार नै औद्योगिक पार्कको शिलान्यास गरेका थिए ।

