प्रचण्ड अभिव्यक्तिको चौतर्फी आलोचना
काठमाडौं,१५ फाल्गुन । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल फेरि बिबादमा तानिएका छन।शुक्रबार राती प्राइम टाइम टेलिभिजनलाई दिएको एक अन्तरबार्तामा प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनता समाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने बताएपछि उनको अभिव्यक्तिको यतिबेला तीब्र आलोचना भैरहेको छ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले देश र जनताका लागि भन्दा पनि प्रचण्डले भारतलाइ कम्फर्टटेबल बनाउन सरकारको नेतृत्व परिवर्तन गराउन मरिहत्ते गरेको उनैले स्वीकार गरेको टिप्पणी गरिरहेका छन।
अध्यक्ष दाहालले शुक्रबार राति प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा कांग्रेस, जसपा र आफूहरू सम्मिलित तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने बताएका थिए । ‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो।’अन्तर्वार्ताका क्रममा दाहालले भने, ‘हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुन आउँछ ।’
अध्यक्ष दाहालले भारतसँग नेपालको बहुआयमिक सम्बन्ध रहेकाले भारतसँगको सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने जिकिर गरे । त्यसैले यही स्थायित्वका लागि पनि कांग्रेस जसपा र आफूहरू मिल्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । ‘सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाई नेपालमा स्थायित्व र विकास हुँदैन,’ उनले थपे, ‘यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनालाई अघि बढाएर लैजानुपर्छ भनेर मैले भनेको छु,’ नेकपाका अध्यक्ष दाहालले भने ।
अन्तर्वार्ताका क्रममा दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको एकता हुनै नसक्ने दाबी गरे । अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव ल्याई ओलीलाई बिदा गरेरै छोड्ने दाबी गरे ।

