कांग्रेस संस्थापन इतर समूहको ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न
काठमाडौं,१६ असोज । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी मंसिरमा आयोजना गर्ने १५औँ महाधिवेशनअन्तर्गत देशभरका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।

इतर समूहको १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बिहिवार सम्पन्न वडा अधिवेशनको प्रदेशगत विवरण सार्वजनिक गर्दै हालसम्म ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको हो।
समितिले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशका १ हजार १५७ मध्ये ५७७, मधेश प्रदेशका १ हजार २७८ मध्ये ४०२, बागमती प्रदेशका १ हजार ११९ मध्ये ५६३, गण्डकी प्रदेशका ७५९ मध्ये ३८६, लुम्बिनी प्रदेशका ९८३ मध्ये ५५०, कर्णाली प्रदेशका ७१५ मध्ये २५७ र सुदूरपश्चिम प्रदेशका ७३४ मध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ।समितिका अनुसार बाँकी वडाहरूमा पनि क्रमशः अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढिरहेको छ।
यसैबीच,रसुवा जिल्लामा बाढी–पहिरोका कारण सातवटा वडामा अधिवेशन हुन नसकेको समितिले जनाएको छ। यस्तै, बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण रोकिएको अधिवेशन असोज १६ गतेसम्म सम्पन्न गर्ने जानकारी दिइएको छ।
संस्थापन इतर समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा तहको अधिवेशनपछि पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र,प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला तहका अधिवेशन सम्पन्न गर्दै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ।
महाधिवेशनलाई लक्षित गर्दै संस्थापन इतर समूहले संगठनका तल्लो तहदेखि नै अधिवेशन प्रक्रिया अघि बढाएको हो।




