कांग्रेस महाधिवेशनमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार
काठमाडौं,१६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सामाजिक सञ्जालमा सिर्जनात्मक भिडियो प्रतियोगिता आयोजना गरेको छ।

‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ नाम दिइएको प्रतियोगितामा कांग्रेसको इतिहास, महाधिवेशन तथा समसामयिक राजनीतिक विषय समेटिएका मौलिक भिडियो सहभागी गराउन सकिनेछ।
प्रतियोगितामा उत्कृष्ट १५ भिडियो छनोट गरी कुल २ लाख २० हजार रुपैयाँ पुरस्कार वितरण गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पाउनेछन् भने थप १२ जनालाई १०/१० हजार रुपैयाँ प्रदान गरिने नेविसंघले जनाएको छ।
भिडियोको विषयवस्तु, सिर्जनशीलता, प्रस्तुति तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरलाई मूल्यांकनको आधार बनाइनेछ। कृत्रिम रूपमा बुस्ट गरिएका भिडियो भने प्रतिस्पर्धामा समावेश नगरिने नेविसंघ अध्यक्ष करुणा कटुवालले बताएकी छन्।




