कालिगण्डकी नदीमा बाढी फैंलदै, पर्वतको जलजलामा २० भन्दा बढी घर बगायो
काठमाडौं,११ असोज । अविरल परेको वर्षापछि कालिगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ । वडा नम्बर ८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बगाइसकेको र यसको रफ्तार बढ्दो क्रममा रहेको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिए । ‘अहिलेसम्म २०–२५ घर बगाइसक्यो । सय भन्दा बढी घर बगाउने अवस्थामा छ,’ उनले भने, ‘ठुलो क्षति भएको छ ।’ उनका अनुसार कालिगण्डकीको बाढी अझै बस्तीतिर पस्न थालेको छ । मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उनले सुनाए ।

बाढीले तीव्र रूप लिँदा घरहरूसँगै स्थानीय विद्यालय, विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ । बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए । ठुलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भए तापनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।
स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा सर्न सफल भएको उनले सुनाए । ‘सबैलाई सुरक्षित ठाउँमा सारेका छौँ । मान्छेलाई समस्या छैन,’ उनले भने ।
उता,कालीगण्डकी नदीकै बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन् । आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ ।स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको प्रहरी कार्यालयका सूचना अधिकारी अवस्थीले जानकारी दिए ।




