मिटर बक्स खरिदको रकमबारे गलत प्रचार गरिएको भन्दै वडाध्यक्ष शेर्पाको आपत्ति
सोलुखुम्बु,२९ भदौ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का वडा अध्यक्ष फुनुरु शेर्पाले विद्युत् विस्तार तथा मिटर बक्स खरिदका लागि उपभोक्ताबाट संकलित रकम दुरुपयोग नभएको स्पष्ट पारेका छन्।

वडा कार्यालयले उपभोक्ताको समय,आर्थिक भार तथा अनावश्यक आवतजावत कम गर्ने उद्देश्यले मिटर बक्स खरिद तथा वितरणमा सहजीकरण गर्ने निर्णय भए अनुसार उपभोक्ताबाट फाराम भराई आवश्यक रकम संकलन गरी एकमुष्ट रूपमा नेपाल विद्युत् प्राधिकरणमा भुक्तानी गर्ने र मिटर बक्स ल्याएर सम्बन्धित उपभोक्तालाई वितरण गर्ने योजना बनाइए पनि प्राधिकरणमा रकम बुझाउन आवश्यक बैंक खाता नम्बर तथा अन्य विवरण माग गर्दै पटक–पटक पहल गरिए पनि समयमा विवरण उपलब्ध हुन नसक्दा प्रक्रिया ढिला भएको जनाएको छ।
जेन–जी आन्दोलनलगायतको असहज परिस्थिति,सम्बन्धित कार्यालय प्रमुखको सरुवा तथा नयाँ प्रमुखको आगमनलगायत कारणले प्रक्रिया थप प्रभावित भए पनि उपभोक्ताबाट संकलित रकम तत्कालीन अवस्थामा भूतपूर्व प्रधानाध्यापक तिलक राना मगरको जिम्मामा सुरक्षित रहेको थियो। रकमको जिम्मेवारीमा रहेका तिलक राना मगर विदेश जानुपर्ने भएपछि संकलित रकम तथा बिल–भर्पाइ वडा नं.१ का वडासचिव दावा ग्याल्जेन शेर्पाको जिम्मामा सुरक्षित राखिएको अध्यक्ष शेर्पाले बताएका छन्।वडा अध्यक्ष शेर्पाका अनुसार २०८३ साउन २६ गते बसेको वडा कार्यालयको बैठकले मिटर बक्स खरिदका लागि संकलित रकम यथाशीघ्र नेपाल विद्युत् प्राधिकरणमा बुझाई मिटर बक्स ल्याउने सम्बन्धमा आवश्यक निर्णय गरेको थियो।
त्यसपछि २०८३ भदौ १३ गते पुनः वडा कार्यालयको बैठक बसेर वडा सदस्य तथा कार्यवाहक सदस्य तिरजन राना मगर र वडासचिव दावा ग्याल्जेन शेर्पालाई काठमाडौं हुँदै सल्लेरी पुगेर उपलब्ध मिटर बक्सको रकम भुक्तानी गरी ल्याउने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ।
विभिन्न व्यावहारिक कारणले उक्त समयमा प्रक्रिया अघि बढ्न नसके पनि हाल कार्यवाहक सदस्य तिरजन राना मगर सल्लेरी पुगेर ५१ वटा मिटर बक्स बुझी ल्याउने प्रक्रिया अघि बढाइसकेको अध्यक्ष शेर्पाले जानकारी दिएका छन्।उपभोक्ताको रकम वडा कार्यालयले रोकेको, दुरुपयोग गरेको वा बेवास्ता गरेको भन्ने आरोप सत्य नभएको वडा अध्यक्ष शेर्पाको भनाई छ।
यस विषयमा सामाजिक सञ्जालमा गरिएको आरोप–प्रत्यारोपप्रति पनि वडा कार्यालयले आपत्ति जनाएको छ। सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी वास्तविक अवस्था नबुझी तथा प्रमाणबिना सामाजिक सञ्जालमा आरोप लगाउँदा समस्या समाधानको सट्टा भ्रम सिर्जना हुने अध्यक्ष शेर्पाको भनाइ छ।
अध्यक्ष शेर्पाले नागरिकले तथ्य र प्रमाणका आधारमा प्रश्न वा आलोचना गर्नु स्वागतयोग्य रहेको बताएका छन्। तर अपूर्ण जानकारी वा व्यक्तिगत आरोपका आधारमा विषयलाई विवादित बनाउनु उचित नभएको उनको भनाइ छ।
वडा कार्यालयले मिटर बक्स खरिदसम्बन्धी विगतका बैठक, निर्णय, समन्वय, ताकेता तथा अन्य पहलका विवरण आवश्यक परे सार्वजनिक गर्न सकिने जनाएको छ।
वडा अध्यक्ष शेर्पाले नागरिकको समय, श्रम र आर्थिक भार कम गर्दै विद्युत् सेवा सहज बनाउनु वडा कार्यालयको उद्देश्य रहेको बताएका छन्। उनले कुनै पनि विषयमा धारणा बनाउनुअघि वास्तविकता र तथ्य बुझ्न तथा समस्या समाधानका लागि वडा कार्यालयसँग समन्वय र सहकार्य गर्न सबैमा आग्रह गरेका छन्।


