प्युठानको स्वर्गद्वारीस्थित माडी र लुङ्ग्री खोलाको किनारमा पाँच वटा बेवारिसे शव फेला



प्युठान,२८ साउन । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार बिहान पाँच जनाको बेवारिसे शव फेला परेको छ। माडी र लुङ्ग्री खोलाको किनारमा नाम,थर र वतन नखुलेका व्यक्तिका शव फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार बिहीबार बिहान करिब ७ः३० बजेको समयमा स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा शव फेला परेका थिए।

स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्ष उमेरका बालकको शव फेला परेको प्रहरीले जनाएको छ। यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।

स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा एक महिलाको शव फेला परेको छ भने स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा दुई महिलाका शव फेला परेका छन्। तीमध्ये एक महिलाको शवमा बायाँ खुट्टाको घुँडादेखिको भाग नभएको प्रहरीले जनाएको छ।

खोलाको किनारमा एकैपटक पाँच जनाको शव फेला परेपछि घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाएको छ। शवहरू कहाँबाट बगेर आएको वा उनीहरूको मृत्यु कसरी भएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन। प्रहरीले शवहरूको पहिचान तथा घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले आफ्नो परिवारका सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न आग्रह गरेको छ। शवहरूको पहिचान खुलेपछि घटनाबारे थप तथ्य बाहिर आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्