रोल्पाको थवाङमा पहिरो जाँदा दुई जनाको मृत्यु ,१० जना बेपत्ता



काठमाडौँ,२८ साउन । अविरल वर्षापछि आएको पहिरोले रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा क्षेत्रमा घर, पसल तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार राति करिब ८:४० बजे माथिबाट आएको पहिरोले कमलबहादुर पुन मगरको घरसहित घर र ढेब्ली गरी करिब सात परिवार बसोबास गर्दै आएका संरचना पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी थबाङ–५ का करिब १८ वर्षीया शान्ती पुन मगर र ६७ वर्षीय कमलबहादुर पुन मगर पुरिएको अवस्थामा फेला परेका छन्।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन्। स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि सुलैचौरतर्फ पठाइएको छ। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी राति करिब ९:३० बजे स्थानीय इलाका प्रहरी कार्यालय उवा, रोल्पामा पुगेपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली राति करिब १०:१५ बजे घटनास्थल पुगेको थियो। प्रहरी रातभर खटिएको थियो । उद्धार कार्य जारी रहेको र बिहीबार बिहानैदेखि उद्धार थालिएको प्रहरीले जनाएको छ । उक्त क्षेत्र रोल्पा सदरमुकाम लिवाङदेखि करिब ८० किलोमिटर पूर्वोत्तरमा पर्छ। file foto

प्रतिक्रिया दिनुहोस्