सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य शेर्पा



काठमाडौं,२७ साउन । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले पार्टीको १५औँ महाधिवेशन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरेका छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै शेर्पाले सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकतासम्बन्धी विषयमा पुनरावेदनका लागि निस्सा प्रदान भए पनि त्यससँग जोडिएको कानुनी प्रक्रिया महाधिवेशन रोक्ने आधार बन्न नसक्ने बताएका हुन्।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने कार्यतालिका अघि सारेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र तयारी,क्रियाशील सदस्यता व्यवस्थापन,प्रतिनिधि छनोट तथा संगठनात्मक विषयलाई लिएर बहस तीव्र भइरहेका बेला शेर्पाको यस्तो धारणा सार्वजनिक भएको हो।

शेर्पाले अदालतमा विचाराधीन कानुनी विषयलाई पार्टीको सांगठनिक प्रक्रियासँग जोडेर महाधिवेशन नै अनिश्चित बनाउने अवस्था नरहेको स्पष्ट पारे। उनका अनुसार अदालतको आफ्नै कानुनी प्रक्रिया अघि बढिरहने भए पनि त्यसले कांग्रेसको नियमित सांगठनिक गतिविधि र महाधिवेशनको तयारीलाई अवरुद्ध गर्नुपर्ने अवस्था छैन।

उनले महाधिवेशनलाई समयमै सम्पन्न गर्नु नै पार्टीको संस्थागत हितमा रहेको धारणा राखेका छन्। लामो समयसम्म महाधिवेशन अनिश्चित हुँदा पार्टी संगठनमा अन्योल सिर्जना हुने र नेता–कार्यकर्तामा समेत निराशा बढ्न सक्ने भएकाले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको जोड थियो।

शेर्पाको अभिव्यक्तिले कांग्रेसभित्र महाधिवेशन निर्धारित मितिमै हुने पक्षमा रहेका नेताहरूको धारणा थप स्पष्ट भएको देखिन्छ। सर्वोच्च अदालतमा रहेको कानुनी विषयलाई आफ्नो ठाउँमा राख्दै पार्टीको संवैधानिक तथा सांगठनिक प्रक्रियालाई निरन्तरता दिनुपर्ने उनको तर्क छ।

आगामी महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टीको संगठनात्मक पुनर्संरचना,आगामी राजनीतिक रणनीति र आन्तरिक एकताका दृष्टिले समेत महत्वपूर्ण भएको उनको भनाई छ । त्यसैले महाधिवेशन समयमै सम्पन्न गर्न सकिने वातावरण निर्माण गर्नु नेतृत्वसामु मुख्य चुनौतीका रूपमा देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्