यो अवसर पाउँदा पनि हामीले कामबाट गलत भाष्य चिर्न सकेनौं भनें फेरि अर्को भदौ २३ आउन सक्छ : रबि लामिछाने
काठमाडौँ,२७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा बदल्नुपर्ने बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए । लामिछानेले अहिलेको पुस्ताले फागुन २१ को निर्वाचनबाट पाएको राजनीतिक अवसरलाई सही ढंगले सदुपयोग गर्न नसके फेरि ‘भदौ २३’ जस्तो परिस्थिति आउन सक्ने संकेत गरेका छन्।
लामिछानेले युवा सांसद तथा मन्त्रीहरूलाई प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा मात्र नलिई गम्भीर भएर काम गर्न आग्रह गरे । अहिलेको पुस्ताले जिम्मेवारी पूरा गर्न नसके आगामी पुस्ताका युवाले पनि यस्तै अवसर नपाउन सक्ने उनको भनाई थियो।रास्वपाले अहिले पाएको राजनीतिक जिम्मेवारी पूरा गर्न नसके केही वर्षमै ‘युवाबाट राजनीति सम्भव हुँदैन’ भन्ने भाष्य निर्माण हुन सक्ने चेतावनी पनि लामिछानेले दिएका छन्।
गत वर्षको भदौ २१, २२ गते त ठिकै थियो, सरकार पनि दुईतिहाइको थियो। शक्तिशाली दुई पार्टी सरकारमा थिए, कसले छुन सक्थ्यो र उनीहरूलाई ? २३ आइपुग्यो नि ओभरनाइट,’ उनले भने, ‘हामीले गलत भाष्यलाई हाम्रो कामबाट चिर्न सकेनौँ भने हेर्दाहेर्दै त्यस्तै डिलमा जान्छ, फेरि भदौ २३ आउन सक्छ।’
उनले भने,चार महिनामा केही भएन भन्ने उस्तै आवाज आइरहँदा त कसरी सकिएला र ? आजको भोलि नै परिणाम खोज्ने बानी पार्यौँ भने हामीसँग विकल्प खोज्नेबाहेक विकल्प हुँदैन । विकल्प खोज्नु विकल्प होइन, विकल्प बन्नु विकल्प हो ।म युवा सांसद र मन्त्री साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले जुन जिम्मेवारी प्राप्त गर्नुभएको छ, पदमा रमाउने बेला होइन यो । जिम्मेवार भएर सोच्ने बेला हो । यसपटक गलत भयो, बिग्रियो भने फेरि भोलिका पुस्ताका युवाहरूले हाम्रो जस्तो अवसर प्राप्त गर्ने छैनन् ।’
विगतमा पाका पुस्ताले मात्रै देश चलाएको भन्दै आलोचना गर्न सहज रहेको भए पनि अहिले राजनीतिक परिस्थिति परिवर्तन भएको उनले बताए । प्रतिनिधिसभामा ठूलो संख्यामा युवा सांसद हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम भएको उनको भनाइ छ ।युवा नेतृत्व आउनुमात्र वर्षौंदेखि देखिएको सपना पूरा नहुने भन्दै लामिछानेले चुनावी परिणाम र प्रतिनिधिसभामा युवाको संख्यालाई उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए ।
उनले भने ‘हामीलाई हिजो अलि सजिलो थियो । दोष लगाइदिए पुग्थ्यो । सबै उमेर पुगेका पाकाहरूले देश चलाए भन्ने कुरा आएको थियो । आज हामीसँग युवा नेतृत्व छ । प्रतिनिधिसभामा यति धेरै युवा हुनु ऐतिहासिक राजनीतिक घटनाक्रम हो । हाम्रो देशको प्रधानमन्त्री अहिले संसारकै युवा प्रधानमन्त्रीको रूपमा देश हाँकिरहनुभएको छ ।युवा नेतृत्व आउनुमात्र सपना साकार हुनु होइन । हामीसँग यसलाई परिणाममा बदल्नुपर्ने चुनौती छ । चुनावको नतिजा र प्रतिनिधिसभाको संख्याले मात्रै वर्षौंदेखि हामीले देखेको सपना पूरा हुँदैन ।’ file foto

