रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा सेनाको पोष्टमा विस्फोट हुँदा एक जनाको मृत्यु
काठमाडौं,२५ साउन । रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान ११ बजे आमाछोदिङमो गाउँपालिका-३ मान्चेटमा रहेको सेनाको पोस्टभित्र विस्फोट हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी अनिल थापाले जानकारी दिए।
उनकाअनुसार विस्फोटमा परी ७ जना घाइते भएका थिए। जसमध्ये एक जनाको मृत्यु भएको हो। आमाछोदिङमो-४ का स्थानीय तथा उक्त हाइड्रोमा कार्यरत सोनाम घलेको मृत्यु भएको हो।डिएसपी थापाका अनुसार लाङटाङ भोटेकोशी हाइड्रोपावरका लागि प्रयोग हुने केही विस्फोटक पदार्थ डिस्पोज गर्न सेनाको पोष्टमा लगिएको थियो। त्यही क्रममा बिस्फोट भएको हो।
यस घटनामा परी घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले बताए।त्यस्तै दुई जना सैनिक र एक जना कर्मचारीको उपचारका लागि हेलिकप्टरबाट काठमाडौंस्थित सेनाको छाउनी अस्पतालमा ल्याइएको उनले बताए।

