तिलौराकोट सामुदायिक वन क्षेत्रमा मृत भेटिए कपिलवस्तुका पूर्ब मेयर सिंह



बुटवल,२४ साउन। तीन दिनदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन्।

सिंहको शव आइतबार तिलौराकोट सामुदायिक वन क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार खोजीमा खटिएको टोलीले जंगलभित्र सिंहको शव फेला पारेको हो। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। करिब साढे ३ बजे उनले आफू निकटका केही व्यक्तिलाई फोन गरी ‘जंगलमा बाटो बिर्सिएको’ बताएका थिए।त्यसपछि आफन्तसहितको टोलीले उनको खोजी सुरु गरेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।

मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेपछि प्रहरी, आफन्त र स्थानीयको टोलीले निरन्तर खोजी गरिरहेको थियो। अन्ततः आइतबार जंगलभित्रै उनको शव फेला परेको हो।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्