धार्मिक कूटनीति बिस्तार गर्दै विश्व आध्यात्मिक दूत प्रदीप खनाल



नेपालको धार्मिक,सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउने अभियानमा पछिल्लो समय एउटा नाम विशेष रूपमा चर्चामा आएको छ—विश्व आध्यात्मिक दूत प्रदीप खनाल। एक वर्षको अवधिमा नेपालसहित छ देशका ४५० भन्दा बढी तीर्थस्थलको यात्रा, विभिन्न धर्म–परम्पराका प्रमुख आध्यात्मिक केन्द्रमा दर्शन तथा साधना र त्यससँगै विश्वका विभिन्न मुलुकका राजनीतिक, कूटनीतिक, शैक्षिक तथा सांस्कृतिक नेतृत्वसँगको संवादले खनालको यात्रालाई एउटा विशिष्ट आध्यात्मिक अभियानका रूपमा स्थापित गरेको छ।

खनालको यो अभियान केवल तीर्थयात्रामा सीमित देखिँदैन। हिन्दू, बौद्ध र सिख परम्परासँग सम्बन्धित धार्मिकस्थलहरूको भ्रमणसँगै विभिन्न समुदाय, संस्कृति र सभ्यताबीच संवाद तथा सम्बन्ध विस्तार गर्ने प्रयासले उनको यात्रालाई धार्मिक तथा सांस्कृतिक कूटनीतिको एउटा फरक अभ्यासका रूपमा समेत व्याख्या गर्न सकिने आधार दिएको छ।

खनालले सन् २०२३–२०२४ को अवधिमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र तिब्बत (चीन) गरी छ देशका ४५० भन्दा बढी तीर्थस्थलमा दर्शन, पूजा, यज्ञ, संकल्प, दान तथा विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेको दृष्टानत छर्लङ्ग छ । यस यात्रामा हिन्दू धर्मका महत्वपूर्ण तीर्थहरू मात्र नभई बौद्ध तथा सिख धर्मसँग सम्बन्धित पवित्रस्थलहरूलाई समेत समेटिएको छ। ४ आदि शक्ति पीठ, १८ महाशक्ति पीठ, ५२ शक्ति पीठ, १०८ सिद्धपीठ, चार धाम, सप्तपुरी तथा १२ ज्योतिर्लिङ्गको दर्शनसँगै सिख धर्मका ११ गुरुद्वारा र बौद्ध धर्मका १३ प्रमुख स्थलमा समेत खनाल पुगेका थिए।त्यसैगरी २३ वटा पवित्र नदी, ताल तथा सरोवरमा स्नान र धार्मिक अनुष्ठान सम्पन्न गर्नु चानचुने कुरा होइन ।

यति ठूलो भौगोलिक क्षेत्र समेटिएको र विविध धार्मिक परम्पराका तीर्थस्थललाई एउटै यात्रामा जोडिएको घटनालाई धार्मिक अभियन्ता तथा सन्त–महात्माहरूले आधुनिक समयमा दुर्लभ आध्यात्मिक अभियानका रूपमा अर्थ्याउने गरेका छन्।

उनको यस्तै ऐतिहासिक र असाधारण तीर्थयात्राका लागि गत मंसिरमा उनलाई काठमाडौंमा सम्पन्न ब्रह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रस्टको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा खनाललाई उनको विशेष सम्मान प्रदान समेत गरिएको थियो।सो समारोहमा सहभागी गुरु, सन्त तथा विद्वानहरूले खनालको यात्रालाई जगतगुरु आदि शंकराचार्य र सिख धर्मका संस्थापक गुरु नानकको धर्म–प्रचार तथा तीर्थयात्राको परम्परासँग जोडेर चर्चा गरेको प्रसंगले नै खनालको अध्यात्म यात्राको महत्व स्थापित गर्दछ।

आदि शंकराचार्यले भारतीय उपमहाद्वीपका विभिन्न क्षेत्रमा यात्रा गर्दै सनातन दर्शनलाई संगठित र पुनर्जीवित गर्ने अभियान चलाएको इतिहास छ। त्यसैगरी गुरु नानकदेवले पनि विभिन्न भूभागमा यात्रा गर्दै धार्मिक तथा सामाजिक संवादको परम्परालाई अघि बढाएका थिए।त्यसैको आधुनिक परिवेशमा खनालले विभिन्न देश र धर्म–परम्पराका पवित्रस्थललाई आफ्नो यात्राको केन्द्र बनाउनु धार्मिक पर्यटनभन्दा फरक किसिमको आध्यात्मिक तथा सांस्कृतिक सम्पर्क अभियानका रूपमा देखिन्छ।


खनालको आध्यात्मिक यात्राले राष्ट्रिय सीमाभन्दा बाहिर पनि सम्मान प्राप्त गरेको छ।सांस्कृतिक कूटनीति तथा सभ्यतागत सद्भावनामा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई ‘हिन्दुस्तान गगन गौरव वर्ल्ड एनभाइ फेस्ट–२०२५’ अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो । कर्नाटक राज्य मुक्त विश्वविद्यालय, मैसूरमा आयोजित अन्तर्राष्ट्रिय समारोहमा शिक्षाविद्, आध्यात्मिक गुरु, कूटनीतिज्ञ तथा नीति–निर्माताहरूको उपस्थितिमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।त्यसैगरी भारतको आन्ध्र प्रदेशस्थित भगवान् शिवका द्वादश ज्योतिर्लिङ्गमध्ये एक मल्लिकार्जुन ज्योतिर्लिङ्ग, श्रीशैलममा सम्पन्न चेंचु संक्रान्ति महोत्सव–२०२६ मा पनि खनाललाई ४५० भन्दा बढी तीर्थस्थलको यात्रा सम्पन्न गरेको उपलब्धिका लागि साधु–सन्त, जनजातीय नेतृत्व तथा धार्मिक समुदायका तर्फबाट विशेष अभिनन्दन गरिएको थियो।

यसरी फरक–फरक धार्मिक तथा सांस्कृतिक मञ्चबाट प्राप्त सम्मानले खनालको अभियानलाई व्यक्तिगत आध्यात्मिक यात्राभन्दा बाहिर निकालेर व्यापक सांस्कृतिक संवादको विषय बनाएको बुझ्न कठिन छैन ।

खनालको अर्को महत्वपूर्ण पक्ष उनको अन्तर्राष्ट्रिय सम्पर्क र संवाद हो। उनले हालसम्म ३० भन्दा बढी देशको भ्रमण गरिसकेको र विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख, पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति, सार्क नेतृत्व, अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि, बेलायती संसद्सहित विभिन्न शैक्षिक तथा सांस्कृतिक मञ्चमा संवाद गरिसकेका छन्। कूटनीति सामान्यतः राज्य–राज्यबीचको औपचारिक सम्बन्धमा केन्द्रित हुन्छ। तर पछिल्लो समय जनस्तरको सम्बन्ध, संस्कृति, धर्म, भाषा, पर्यटन र सभ्यतागत सम्बन्धलाई समेत अन्तर्राष्ट्रिय सम्बन्धको महत्वपूर्ण आधार मानिन्छ। यही सन्दर्भमा खनालको अभियानलाई ‘धार्मिक कूटनीति’ वा ‘सभ्यतागत कूटनीति’को एउटा सम्भावित नेपाली अभ्यासका रूपमा हेर्न सकिन्छ।

नेपाल आफैंमा हिन्दू र बौद्ध सभ्यताको महत्वपूर्ण संगमस्थल हो। पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वयम्भूनाथ, बौद्धनाथलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाले नेपाललाई विश्व आध्यात्मिक नक्सामा विशिष्ट स्थान दिएका छन्। यस्तो अवस्थामा नेपालको आध्यात्मिक पहिचानलाई विश्वका अन्य धार्मिक तथा सांस्कृतिक केन्द्रसँग जोड्ने कुरामा योगदान पुर्‍याउन सक्छ।

खनालको यात्राको विशेषता एउटा धर्म वा एउटा भौगोलिक सीमाभित्र सीमित नहुनु हो। हिन्दू धर्मका शक्ति पीठ, सिद्धपीठ, धाम र ज्योतिर्लिङ्गदेखि बौद्ध धर्मका प्रमुख स्थल तथा सिख धर्मका गुरुद्वारासम्मको यात्राले दक्षिण एसियाको साझा सभ्यतागत सम्बन्धलाई एउटै यात्रामा जोडेको देखिन्छ।

विशेषतः नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान र तिब्बतसम्मको यात्राले दक्षिण एसियाका विविध धार्मिक परम्पराबीच रहेको ऐतिहासिक सम्बन्धलाई उजागर गर्ने अवसरसमेत दिएको छ।

नेपालले विश्वसामु आफ्नो प्राकृतिक सौन्दर्य र हिमाल मात्र होइन, आफ्नो हजारौं वर्ष पुरानो सभ्यता, संस्कृति र आध्यात्मिक परम्परालाई समेत परिचित गराउन सक्छ। त्यसका लागि राज्यका औपचारिक कूटनीतिक संयन्त्रसँगै समाज, संस्कृति, धर्म र आध्यात्मिक क्षेत्रबाट हुने अन्तर्राष्ट्रिय सम्पर्क पनि महत्वपूर्ण हुन सक्छ।

यदि कुनै नेपाली आध्यात्मिक व्यक्तित्वले विश्वका विभिन्न देशका धार्मिक केन्द्रमा पुगेर नेपालको धार्मिक तथा सांस्कृतिक पहिचान प्रस्तुत गर्छ, त्यहाँका धार्मिक नेतृत्वसँग सम्बन्ध बनाउँछ र त्यही सम्बन्धलाई सामाजिक तथा सांस्कृतिक संवादमा परिणत गर्छ भने त्यसले औपचारिक कूटनीतिलाई समेत सहयोग पुर्‍याउन सक्छ।

तर यसका लागि व्यक्तिगत अभियानलाई संस्थागत र दीर्घकालीन राष्ट्रिय सांस्कृतिक कूटनीतिको नीतिसँग जोड्न आवश्यक हुन्छ। नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदा, तीर्थयात्रा, योग, आयुर्वेद, बौद्ध दर्शन, सनातन परम्परा र सभ्यतागत सम्बन्धलाई विश्वस्तरमा व्यवस्थित रूपमा प्रस्तुत गर्न सके नेपालले पर्यटन मात्र होइन, आफ्नो अन्तर्राष्ट्रिय सांस्कृतिक प्रभाव पनि विस्तार गर्न सक्छ।

नेपालबाट विश्वमञ्चमा अघि बढेको यो अभियानलाई व्यक्तिगत उपलब्धि र सम्मानको सूचीमा मात्र सीमित नराखी नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति र सभ्यतागत सम्बन्ध विस्तारको एउटा सम्भावित माध्यमका रूपमा संस्थागत गर्न सकिए त्यसको प्रभाव अझ फराकिलो हुन सक्छ। ४५० भन्दा बढी तीर्थस्थलको यात्रा, विभिन्न धार्मिक परम्परासँगको सम्पर्क,३० भन्दा बढी देशको अन्तर्राष्ट्रिय अनुभव र विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चबाट प्राप्त सम्मानले प्रदीप खनालको यात्रालाई एउटा व्यक्तिको आध्यात्मिक साधनाभन्दा परको विषय बनाएको छ।

प्रतिक्रिया दिनुहोस्