लिपुलेक क्षेत्रमा भारतीय गतिविधि तत्काल रोकिनुपर्ने भन्दै विद्यार्थी संगठनहरुको प्रदर्शन



काठमाडौँ,२१ बैशाख । लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भू–भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।

संयुक्त विद्यार्थी सङ्गठनको ब्यानरमा भेला भएका विद्यार्थीले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली भूमिको संरक्षणको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो हो’, ‘सीमा अतिक्रमण बन्द गर’, ‘भारतीय हस्तक्षेप बन्द गर’ र ‘गो ब्याक इण्डिया’जस्ता नाराहरू लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

उनीहरूले अतिक्रमित भूमि फिर्ता ल्याउन र सीमा रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्दै ‘ओई सरकार ओई, हाम्रो भूमि खोई?’ भन्दै नाराबाजीसमेत गरेका थिए।

प्रदर्शनकारीहरूले लिपुलेक क्षेत्रमा भइरहेको भारतीय गतिविधि तत्काल रोकिनुपर्ने र नेपालको भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएका छन्। हातमा विभिन्न प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका विद्यार्थीले राष्ट्रिय स्वाधीनताका पक्षमा ऐक्यवद्धता जनाउँदै सरकारलाई कूटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्