बिश्व शेर्पा दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दावा जाङ्बु शेर्पा,काठमाडौं,२४ असोज। शेर्पा दिवसका अवसरमा विश्व शेर्पा संघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

भर्चुअल रूपमा सम्पन्न सो कार्यक्रममा नेपाल,भारत,अमेरिका,युरोप, युके लगायत विभिन्न देशहरूमा रहेका दुई दर्जनभन्दा बढी शेर्पा संघसंस्थाहरुका अध्यक्ष तथा पदधिकारीहरु सहभागी थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिएको सो कार्यक्रमले भौगोलिक दूरी फरक भए पनि शेर्पा समुदायलाई एकै थलोमा जोड्ने प्रतीकको काम गरेको महासचिव आङ्जाङ्बु शेर्पाले बताए ।
संघका संस्थापक अध्यक्ष इन्जिनियर आङ दोर्जी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संघका महासचिव शेर्पाले नै गरेका थिए । यसैगरी विश्व शेर्पा संघले न्युर्योकमा पनि विश्व शेर्पा दिवस भव्यताका साथ मनाएको छ ।
नेपालमा पनि शेर्पा संघको आयोजनामा संघकै भवन नारायणटारस्थित वर्ल्ड शेर्पा एप्सको अनुशिक्षण तथा शेर्पा भाषा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल शेर्पा संघका उपाध्यक्ष दावा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विश्व शेर्पा संघका संस्थापक अध्यक्ष इन्जिनियर आङ दोर्जी शेर्पा रहनुभएको थियो ।
उहाँले कार्यक्रमको उद्घाटन गर्नुहुँदै विश्व शेर्पा दिवस विश्वभरका शेर्पाहरुलाई एकरुपता गराउने र शेर्पा भित्र मज्बुद बनाउने दिवस भएको भनाई राख्नुभयो । उहाँले विश्व शेर्पा संघको पहिलो शेर्पाहरुको सम्मेलन अक्टुबर ८मा भएकोले सो सम्मेलनबाट निर्णय भए अनुसारबाट प्रत्येक साल अक्टुबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउने भएकोले शेर्पा दिवस दिवसको रुपमा मात्र नभई शेर्पा समुदायको उत्थानको निम्ति भएको धारणा राख्नुभयो । सो अवसरमा उहाँले विश्व शेर्पा संघले निमार्ण गरेको वल्र्ड शेर्पा एप्स प्रयोग गर्न आग्रह गर्नुभयो ।
यसअघि कार्यक्रममा एप्स प्रयोगका सम्बन्धमा बैंकर ङिमा ग्याल्जेन शेर्पाले प्रशिक्षण दिनुभएको थियो । उहाँले एप्समा भाषा संगसंगै धार्मिक ज्ञान, सांस्कृतिक ज्ञान, शेर्पा गीत साथै शेर्पा संघसंस्थाहरुको विषयमा पनि एप्समा समावेश गरेको जानकारी दिनुभयो ।

