वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ



काठमाडौं,२६ बैशाख। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौँ तार्केश्वर नगरपालिका-५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका-५ घर भएका ५० वर्षीय मोतीसरा खत्री रहेका छन् ।

पक्राउ पर्नेमध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३५ लाख रूपैयाँ तथा मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपालिका-८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौं महानगरपालिका-१३ बाट बिहीबार पक्राउ गरेको हो।

उता,डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्