सबैको सहमतिमा प्रदेश संरचना खारेज गरौं : लिङ्देन




फाईल तस्बिर
काठमाडौं,२६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबैको सहमतिमा प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको तर्क गर्दै प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका हुन्।

वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गर्दै उनले नयाँ मौलिक संरचना निर्माण गर्नुपर्ने बताए। सबैलाई समेट्न सकिने गरी नयाँ मौलिक संरचना निर्माण गरिए मुलुकमा रहेका असन्तुष्टिको समेत सम्बोधन हुने उनको भनाइ छ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष लिङदेनले धितोपत्र बोर्डले दलाली गरिरहेको आरोप लगाए। उनले बोर्डले दुई वर्षदेखि शेयर निष्काशन नगर्दा उर्जा उत्पादकहरू रोएर बस्नु परिरहेको बताए। उनले आईपिओ निष्काशन गर्न उर्जा उत्पादकहरूसँग बोर्डले सात प्रतिशत कमिसन मागिरहेको कारबाही गर्नुपदैन ? भन्दै प्रश्न गरे।

अध्यक्ष लिङदेनले संविधान र गणतन्त्रात्मक व्यवस्थाको विरोधमा राजनीति गर्न नपाउने सरकारको नीतिको विरोध गरे।

प्रतिक्रिया दिनुहोस्