अपाङ्गता भएका र जेष्ठ नागरिकप्रति अझ बढी जिम्मेवार बनेर काम गर्न अध्यक्ष राईको निर्देशन
सोलुखुम्बु। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आर्थिक वर्ष २०८१/०८२ को पहिलो अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै पालिका अध्यक्ष असिम राईले अपाङ्गता भएका र जेष्ठ नागरिकप्रति अझ बढी जिम्मेवार बनेर काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष,कार्यपालिका सदस्य,शाखा प्रमुख र अपाङ्गता भएका व्यक्ति सहित मिलिजिली समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।
थुलुङ दुधकोशी गाउँपालिका भित्र ४ सय १२ जना अपाङ्गता भएका व्यक्ति रहेका छन । जस मध्य १ सय ८ जनाले रातो कार्ड, २ सय ७६ जनाले निलो, २२ जनाले पहेँलो र ६ जनाले सेतो कार्ड प्राप्त गरेका छन ।
थुलुङ दुधकोशी गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको संयुक्त कार्यक्रम मार्फत पालिकाको ९ वटै वडामा मिलिजुली समूह गठन गरि उनिहरुको क्षमता अभिवृद्धि देखि सहायता सामग्री समेत हस्तान्तरण गर्दै आएको छ । पहिलो चरणमा ४२ जनालाई सामग्री वितरण गरिएको छ भने शिविर संचालन गरि अवस्था पहिचान र उपचार समेत गरिएको गाउँपालिकाले जनाएको छ ।

