रूपन्देही अदालतमा रबिको थुनछेक बहस भोलिदेखि हुने
काठमाडौं । रूपन्देही अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी मंगलबार भैरहवा पुगेका लामिछानेको जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बयान भएको हो । भोलिदेखिमात्रै थुनछेक बहस हुने बताइएको छ ।

नारायण बहादुर पहराईसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको सो मुद्दामा रवि र रविना रिमालसमेत गरी २२ जना प्रतिवादी छन् । उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।
कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोप छ ।
लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी बचत अपचलन मुद्दामा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो।
गत पुस २५ गते कास्की अदालतले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने माघ २ गते काठमाडौं अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।