पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त, भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्ति गरेका हुन् ।

पूर्वप्रधानमन्त्री सिंहसँगको भेटको तस्बिर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले उनीसँग गरेको संवाद पनि सम्झिरहेको उल्लेख गरेका छन् ।‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु । दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्ति गरेका छन् । उनले पनि सिंहसँगको विगत भेट सम्झिएका छन् ।

‘सन् २००८ मा नेपालको गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा उहाँको न्यानो आतिथ्यताको अनुभव गर्ने सुअवसर पाएको थिएँ । त्यो भ्रमणको क्रममा हामीले नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विषयमा व्यापक र स्पष्ट छलफल गरेका थियौँ । म विश्वव्यापी मुद्दाहरू, क्षेत्रीय राजनीति र भारत–नेपाल सम्बन्धमा वर्षौंदेखि हाम्रो निरन्तर वार्तालापहरू पनि सम्झन्छु । उहाँको बुद्धि, दृष्टि, र हाम्रा राष्ट्रहरू बीच बलियो सम्बन्ध बढाउनको लागि समर्पण सधैं सम्झिरहनेछ,’ प्रचण्डले उल्लेख गरेका छन् ।

भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार डिसेम्बर २७ मा हुने सबै सरकारी कार्यक्रमहरु रद्द गरिएको छ।शनिबार अन्त्येष्टिको दिन विदेशमा रहेका भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ।केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ। प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।

कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सार्वजनिक बिदा र सात दिने राजकीय शोकको घोषणा गरेको छ ।उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरुले शोक व्यक्त गरेका छन् । उनको शनिबार अन्तिम संस्कार गरिने छ । उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने जनाइएको छ ।

मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो।पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए। त्यसपछि उनले अक्सफोर्डबाट पीएचडी गरे।

बिहिवार स्वास्थ्य अवस्था बिगि्रएर अस्पताल भर्ना गरिएका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो। सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीको रूपमा र त्यसअघि अर्थमन्त्रीमा रहँदा उनले त्यस्ता सुधारका काम गरेका थिए।उनी भारतमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहने मध्येका एक थिए जसलाई भारतीय आर्थिक उदारीकरणका मुख्य शिल्पकार मानिन्छ।

प्रतिक्रिया दिनुहोस्