बार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीमा छैन : महासचिव पोखरेल
काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले बनाएको वार्षिक कार्ययोजनालाई अनिवार्य रुपमा कार्यन्वयन गर्न निर्देशन दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबारबाट सुरु पार्टी निर्माणमा स्थानीय तहका समस्या र समाधानका विषयक दुई दिने कार्याशालालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो निर्देशन दिनुभएको हो।महासचिव पोखरेलले मिसन–२०८४ मा आधारित बार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताउनुभयो ।
यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्वपूर्ण काम भएको भन्नुहुँदै उहाँले पार्टी कमिटीहरूले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम गर्नुपर्नेमा त्यसो नभइरहेको बताउनुभयो। उहाँले पार्टीमा युवा र महिलाको संख्या किन बढाउन सकिएन भनेर सहभागीहरुलाई प्रश्न गर्नुभएको छ । ‘पार्टीका हरेक कमिटीमा ४० वर्ष भन्दा कम उमेरका युवा र महिलाहरुको संख्या बढाउने केन्द्रीय नीति छ । तर किन यो कुरा कार्यान्वयन हुन सकिरहेको छैन ?’ महासचिव पोखरेलको प्रश्न छ ।
उहाँले स्थानीय तहदेखि नै युवा र महिलाको क्षेत्रमा विशेष जोड दिएर काम गर्नुपर्ने बताउँउनुभयो । सहभागीहरुलाई पोखरेलले सोध्नुभयो – पार्टी निर्माणका सन्दर्भमा जहाँ जोड दिनुपर्ने हो, त्यहाँ किन जोड दिन सकिरहेका छैनौं ? किन ध्यान गएको छैन ?
पार्टी जीवनका समस्याहरू औल्याउँदै महासचिव पोखरेलले पार्टीको नीति जनतासम्म पुग्ने/पुर्याउने तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग सम्वाद गर्नुपर्ने पक्षमा कमी रहेको र अहिले जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताउनुभयो ।
उहाँले भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामको विष्लेषण सुनाउँदै हेर्दा विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताउनुभयो । महासचिव पोखरेलले स्थानीय तहमा जनप्रतिनिधिले गर्ने काम पार्टी निर्माणमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताउनुभयो ।

