मंगलबार सरकारको नीति तथा कार्यक्रम आउने
काठमाडौ।सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आगामी मंगलबार ल्याउने भएको छ।संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

संघीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै २०८१ साल जेठ १ गते मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित सबै सांसदलाई उक्त दिन २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई सक्न आग्रह गरेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गरेका हुन् ।’सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मंगलबार ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा संघीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ’, सूचनामा भनिएको छ ।

