तीन सय ३५ किलो गाँजा र नगदसहित धरानबाट सात जना पक्राउ
सुनसरी।धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा ३ सय ३५ किलो र नगद ७ लाख ५२ हजार ५ सय २५ रूपैयाँसहित ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा साँघुरीगढी गाउँपालिका-१० बस्ने २० वर्षीय मन्दीप राई, २८ वर्षीय मन कुमार राई, २४ वर्षीय राम कुमार राई, ३५ वर्षीय थाम बहादुर राई, २५ वर्षीय देउमन राई तथा १६ वर्षीय किशोर र सखुवासभा मांडतेवा बस्ने २५ वर्षीय अजित राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को. १ ज १८२१ नम्बर र को. २ च ३११० नम्बरको २ वटा पिकअप गाडीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को. ३१ प ६०३७ नम्बर र को. ३० प ९०९२ नम्बरको २ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

