नयाँ सरकार गठनबिरुद्ध कोशीका निवर्तमान मुख्यमन्त्री कार्की सर्बोच्चमा
काठमाडौं।कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही नगर्न नगराउन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारी वहन गराउन माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन्।

बिहीबार दिउँसो कार्कीको तर्फबाट अधिवक्ता सुप्रेक्षा जोशीले दायर गरेको सो रिटमा संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत मागको माग गरिएको छ।। कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभामुख अम्बरबहादुर विष्ट, संकल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ।
प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। उनले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै केदार कार्की काठमाडौं आइपुगेका हुन्। उनले नयाँ सरकार गठन असंवैधानिक भएको दाबी गरेका छन्।
बहालमा रहेको रकार बहिर्गमन नभई नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्न असंवैधानित रहेको दाबी गरिएको हो।

