‘एक कक्षा,एक धारा’को ब्यबस्था गर्दै हिमाल दर्शन पूर्ब विद्यार्थी समाज



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको श्री हिमाल दर्शन माध्यमिक विद्यालयका पूर्ब विद्यार्थीहरुको साझा संस्था हिमाल दर्शन पूर्ब विद्यार्थी समाजले विद्यार्थीहरुको सहजताका लागि ‘एक कक्षा,एक धारा’ को ब्यबस्था गर्ने भएको छ।

समाजद्वारा प्रकाशित २०८१ सालको भित्तेपात्रो सार्बजनिक तथा वितरण कार्यक्रममा समाजका अध्यक्ष दिनराज बास्तोलाले विद्यालयको स्वर्ण महोत्सव अघि गरिसक्ने कामको सूची सार्बजनिक गर्दै हिमाल दर्शनमा ‘एक कक्षा,एक धारा’को ब्यबस्था छिट्टै गर्ने जानकारी दिएका हुन।विद्यालयले आगामी माघ ७ गतेदेखि १४ गतेसम्म स्वर्ण महोत्सव मनाउँने निर्णय यसअघि नै गरेको छ।

स्वर्ण महोत्सवका अवसरमा ‘५० बर्ष ,५० संकल्प’ प्रस्तुत गर्दै समाजले त्यसमध्ये १० वटा संकल्प महोत्सव सम्म आफुले पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।बांकी ४० वटा संकल्प पूरा गर्न विद्यालयलाई आग्रह गरिएको अध्यक्ष बास्तोलाले बताए।

समाजले पूरा गर्ने १० संकल्पमा मेरो जन्मदिन मेरो पुस्तकालय अभियानलाई निरन्तरता दिने,पूर्व विद्यार्थी समाजको लोगो अङ्कित एक कक्षा कोठा एक भित्ते घडी,सामुदायिक विद्यालय बिज्ञको उपस्थितिमा बृहत शैक्षिक अन्तरक्रिया,विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण,स्वर्ण महोत्सवको लकेट प्रकाशन तथा बितरण, स्वर्ण महोत्सव लोगो अङ्कित मायाको चिनोको ब्यबस्था र हिमाल दर्शनबाट सेवा निबृत पूर्व शिक्षक एबम् कर्मचारी सम्मान गर्ने लगायतका छन्।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजद्वारा प्रकाशित भित्तेपात्रो विद्यार्थी तथा अभिभावकहरुलाई बितरण गरिएको थियो।

समाजका अध्यक्ष दिनराज बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष देबेन्द्र कटेल र प्रेम प्रसाद कटेल लगायतले आ-आफ्नो धारणा राखेका थिए।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोककुमार शर्मा,शिक्षक,विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्