काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग नभएको मन्त्री चौधरीको गुनासो



काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले शुक्रबार युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
लैङ्गिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताहरूले केही गरौँ भनेर काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोग प्राप्त नगरेको उहाँको भनाई थियो । ‘हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुँदा केही गरौँ भनेर योजना बनाएर अगाडि बढौँ । जनताको आशा जगाउने र फरक खालको नतिजा दिने गरी काम गर्नुपर्छ भनेर लाग्दै आएका छौँ’, मन्त्री चौधरीले भन्नुभयो, ‘हामीलाई हाम्रा पार्टीका नेतृत्वले पनि निर्देशित गर्नुहुन्छ । हामीमा पनि केही गरौँ भन्ने जोस जाँगर हुन्छ । त उहाँहरूले खाली नियम कानून तेर्स्याएर यो त हुँदैन भन्नुहुन्छ ।’उहाँले भन्नुभयो, ‘लोकसेवा लडेर परीक्षा लेखेर आयो भन्दैमा फरक हौँ भन्ने हामीले बुझ्नु हुँदैन । हामी पनि त्यही समुदायको, त्यही समाजको हो भनेर भुल्नु हुँदैन । किनभने हामी पनि त्यहीँबाट आएका हौँ ।’

मन्त्री चौधरीले न्यून बजेटको कार्यक्रममा पनि समस्या देखाउने प्रवृत्ति रहेको बताउनुभयो । ‘त्यति कम बजेटमा पनि त्यसरी अप्ठ्यारो पारिन्छ । त्यो भनेको काम गर्न नचाहेको हो नि त । यो चिजमा पनि हामीले कसरी तालमेल मिलाउन सकिन्छ । यसमा पनि हामी जोड बलले लाग्न आवश्यक छ जस्तो लाग्छ’, उहाँले भन्नुभयो ।

राज्यको स्थायी सरकार कर्मचारी भएको भन्दै उहाँले राजनीतिक नेतृत्व आउने जाने अवस्था भए पनि काम गर्न चाहनेलाई कर्मचारीले सहयोग गर्नुपर्ने समेत बताउनुभयो । ‘हामीले मुलुकको विकास गर्ने । जनता र देशको पक्षमा काम गर्ने कुरालाई सबैले प्राथमिकतामा राख्नुपर्‍यो । हामी सबै नेपालको जनता भएकाले सबै (राजनीतिक नेतृत्व र कर्मचारी)ले बराबर प्रतिबद्धता गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्