थुलुङ दुधकोशीले आगलागी पीडितलाई ५० हजार नगदसहित अन्य राहत सामाग्री दिने



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पन्चनका आगलागी पीडितलाई आर्थीक सहित अन्य आवश्यक सामाग्री राहत दिने निर्णय गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा जुम मार्फत बसेको कार्यपालिका बैठकले आर्थिक सहित अन्य सामाग्री दिने निर्णय गरेको हो ।

जंगलमा लागेको आगो बुधबार गाउँ पस्दा वडा नम्बर ३ को ९ घर जलेर पुर्णरुपमा नष्ट भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मानिस बस्दै आएको तीनवटा घर र मानिस नबस्ने सात घर जलेर पुर्णरुपमा नष्ट भएको छ । यस्तै गाईगोठ र बाख्राको खोर जेलेको छ भने केही चौपाय समेत जलेर घाइते भएका छन् ।

मानिस बसीरहेको तीनघर परिवारलाई प्रति परिवार रु.५० हजार नगद सहित जस्तापाता, खाद्यन्न, लत्ताकपडा सहितको प्याकेजमा राहत प्रदान गरिने कार्यपालिका बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले बताउँनुभयो । उहाँका अनुसार अन्य सात घर परिवारलाई प्रति परिवार रु.२५ हजार नगद राहत प्रदान गरिने छ ।

तीन घर परिवारलाई बासको समेत समस्या भएकाले बिहिबारनै जस्तापाता सहित अन्य आवश्यक सामाग्री हस्तान्तरण गरिने पालिकाले जनाएको छ ।

एकद्धार प्रणालीमार्फत राहत प्रदान गरिने

आगलागी पीडितलाई एकद्धार प्रणालीमार्फत राहत प्रदान गर्ने पनि बैठकले निर्णय गरेको छ ।जसको लागी संबन्धित वडाका वडा अध्यक्ष इन्द्रमणी दाहालको संयोजकत्वमा तीन सदस्य राहत वितरण तथा समन्वय समिति गठन गरिएको छ । जसको सदस्यमा वडा नम्बर दुईका वडा अध्यक्ष तथा विपद् व्यवस्थापन समिति संयोगक युजन बस्नेत र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की सदस्य रहने बताइएको छ ।

उक्त समितिले आगलागी पीडितलाई राहत सामाग्री उपलब्ध गराउन इच्छुक सबै संग समन्वय गर्ने र वितरणको लागि आवश्यक व्यवस्था गर्ने बताइएको छ ।

जंगलको डढेलो गाउँ पसेपछि खरको छाना भएको अधिकांश घरमा क्षति भएको छ । उक्त आगो नियन्त्रण गर्नकालागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी र जनप्रतिनिधि लगायत खटेका थिए । बैठकले आगो नियन्त्रणमा खट्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । आगलागी जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबैजना सचेत हुनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्