गयो कोशी प्रदेश खेलकूद सचिब वाग्लेको पद,बस्नेतको पुनर्बहाली



बिराटनगर ।कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा तत्कालीन गठबन्धन सरकारद्वारा नियुक्त हंसराज वाग्ले पदमुक्त भएका छन्।

राजेन्द्र राई नेतृत्वको सरकारले अघिल्लो सरकारद्वारा नियुक्त सचिब पर्शुराम बस्नेतलाई बर्खास्त गर्दै नियुक्त वाग्लेलाई उच्च अदालत विराटनगरले सोमबार बर्खास्त गरिदिएको हो।उनी पदमुक्त भएसंगै नेकपा एमालेका नेता पर्शुराम बस्नेत सो पदमा पुनर्बहाली भएका छन् ।

तत्कालिन मुख्यमन्त्री भीम आचार्यले २४ असोज २०७८ मा नियुक्त गरेका बस्नेतलाई राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदले २१ चैत २०७८ मा पदमुक्त गरेको थियो ।

पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिएका थिए । सोही रिटमा दुई वर्षपछि उच्च अदालतका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको इजलासले सुनुवाइ गर्दै बस्नेत पुनर्बहाली हुने फैसला गरेको उच्च अदालतका रजिस्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए ।४ मंसिर २०७९ को निर्वाचनपछि बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारले ३ जेठ २०८० मा वाग्लेलाई बर्खास्त गरेको थियो । वाग्लेले आफ्नो बर्खास्तविरुद्ध दिएको रिट भने उच्च अदालतले खारेज गरेको छ ।

बस्नेत २४ असोज २०७८ मा चार वर्षका लागि खेलकुद बोर्डको सदस्य सचिव नियुक्त भएकाले बाँकी अवधि उनले काम गर्न पाउने बस्नेतका कानुन व्यवसायी रमेश कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्