लगानी सम्मेलनको समापन आज गरिंदै, के छन् आजका कार्यक्रम ?



काठमाडौं । हिजोदेखि सुरू भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुनेछ ।

सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल सम्मेलनको दोस्रो दिन आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्नेछन् ।

पहिलो सत्र ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयका छलफल हुनेछ । सो छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायत वक्ता छन् ।
त्यस्तै, ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य वक्ता रहेका छन् ।

‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानीकर्तासँग छलफल गर्ने छन् ।

‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ वक्ता रहनेछन् । सो सत्रमा राष्ट्रिय योजना आयोका सदस्य प्रा.डा. संगीता सिंह, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र प्राध्यापक डा सुरेशराज आचार्यलगायत वक्ता रहेका छन् ।

अन्तिममा समापन सत्रमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । समापन मन्तव्य अर्थमन्त्री पुनले दिने कार्यतालिका छ ।

सम्मेलनको आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।उद्घाटनसत्रपश्चात् दुई मुख्य सत्र ‘नेपालमा लगानीका सम्भावनाको खोजी’ तथा ‘नेपालमा लगानी सफलताका कथा’ सञ्चालन गरिएको थियो । सम्मेलनका क्रममा आजै दुईवटा सम्झौता भएका छन् । डाटा सेन्टर निर्माण तथा सञ्चालन सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो । बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसियाबीच पनि द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री मलेसियाका अध्यक्ष तान श्री दातो थायन लाईले सम्झौतामा हस्ताक्षर गरे । सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय ‘साइडलाइन’ बैठकहरू सम्पन्न भएका छन् ।

सम्मेलनको पहिलो दिन दुई हजार एक सय ६३ व्यक्ति सहभागी भएको लगानी सम्मेलन सचिवालयले जनाएको छ । सहभागीमध्ये छ सय ८० व्यक्ति विदेशी छन् । त्यसमध्ये एक सय ८६ जना भारतका र दुई सय चालिस जना चिनियाँ रहेका छन् । 

सम्मेलनस्थलमा २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका छन् । सहभागी एवं लगानीकर्ताले ती प्रदर्शनीकक्षमार्फत विभिन्न परियोजनाका बारेमा विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । 

सम्मेलनका क्रममा आशयपत्र आह्वान गरिएका १९ वटा परियोजनासहित कूल एक सय ५४ परियोजना प्रस्तुत गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्